Ads

विदेश पलायनले विज्ञान र गणितका शिक्षकको अभाव


अर्घाखाँची । मालारानी गाउँपालिकाको वीरेन्द्र माध्यमिक विद्यालयमा चार महिनादेखि गणित विषयको शिक्षक नहुँदा पठनपाठन प्रभावित बनेको छ । गणित शिक्षकका लागि तीन पटकसम्म विज्ञापन खुलाए पनि एउटा पनि दरखास्त नपरेको विद्यालयका प्रधानाध्यापक कमल पछाइले बताए । राम्रो विषय लिएर पढेका युवा जनशक्ति रोजगारी तथा अध्ययनका लागि विदेशमा जाने चलनले गाउँमा शिक्षक पाउन नसकिएको उनको भनाइ छ ।

शीतगङ्गा नगरपालिका–९ को पाकुरी माध्यमिक विद्यालयले पनि गणित र विज्ञान विषयका लागि तीन पटकसम्म विज्ञापन आह्वान गर्दापनि शिक्षक पाउन सकेको छैन् । नगरपालिकाको विकट क्षेत्र मानिने सिद्धाराको पाकुरी माविमा गणित र विज्ञान विषयको शिक्षक पाउन नसकेपछि पढाइ प्रभावित भएको शीतगङ्गा नगरपालिकाका शिक्षा अधिकृत विनोद पोख्रेलले बताए । पढेलेखेका मानिस विदेश पलायन हुन थालेपछि विद्यालयमा दक्षजनशक्तिको अभाव बढेको उनको भनाइ छ ।

“पहिले विद्यालयमा शिक्षकको कुनै कमी हुदैनथ्यो । तर पछिल्लो समयमा अर्घाखाँचीका विद्यालयले एउटै पदका लागि पटक–पटक शिक्षकको विज्ञापन आह्वान गर्दा पनि शिक्षक पाउन सकिएको छैन”, शिक्षा विकास तथा समन्वय इकाइ अर्घाखाँचीका प्रमुख मणिराम पराजुलीले भने । विष्णुपथ चौपारी आधारभूत विद्यालय शीतगङ्गा नगरपालिका–७ लामातालमा पनि गणित र विज्ञान विषयको शिक्षकका लागि तीन पटकसम्म विज्ञापन आह्वान गर्दा पनि शिक्षक पाउन सकिएको छैन ।

पाणिनी गाउँपालिका–७को जनसेवा माध्यमिक विद्यालयले पनि माध्यमिक तहमा विज्ञान विषयको शिक्षक आह्वानका लागि विज्ञापन भए पनि अहिलेसम्म शिक्षक पाएको छैन । पाँच पटकसम्म विज्ञापन आह्वान गर्दा पनि शिक्षक नपाएको प्रधनाध्यापक शालिकराम बेल्वासेले बताए । उनले भने, “पाँचौँ पटकको विज्ञापनमा दुई जनाले दरखास्त दिएका छन्, तर परीक्षा नहुँदै शिक्षक पायौँ भन्ने अवस्था छैन ।

” यसअघि एक जनाले दरखास्त दिएको तर पछि विद्यालय टाढा भयो भनेर नआएको उनको भनाइ छ । पछिल्लो समय विद्यार्थी विज्ञान विषय लिएर उच्च माध्यमिक तह तथा बिएसी पास गरिसकेपछि अध्ययन तथा रोजगारीका लागि विदेशमा जानेर र उतै बस्ने परिपाटीले गाउँमा रहेका विद्यालयमा शिक्षक पाउन नसकिएको उनको भनाइ छ ।

Ads

सम्बन्धित पोष्टहरू