Ads

अर्थतन्त्रका चुनौती सामना गरिन्छ : अर्थसचिव पुस्कर


काठमाडौँ । नवनियुक्त अर्थसचिव डा कृष्णहरी पुस्करले अहिले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि कर्मचारी संयन्त्रबाट अधिकतम प्रयास आवश्यक रहेको बताएका छन् । आज मन्त्रालयमा कर्मचारीलाई निर्देशन दिदै अर्थसचिव पुस्करले अर्थतन्त्रमा देखिएका चुनौती समाधान सकिने विश्वास व्यक्त गरे ।

“अर्थतन्त्रको विषम परिस्थितिमा धेरै चुनौतीका अगाडि मलाई सरकारले अर्थ सचिवको जिम्मेवारी दिइएको छ । यो कुरालाई मैले निकै संवेदनशीलताका साथ मनन गरेको छु”, पुस्कले भने, “राज्यका अगाडि देखिएका चुनौती समाधान गर्न सक्ने छौं भन्ने विश्वास लिएको छु । लडेर–भिडेर जसरी पनि अर्थतन्त्रका चुनौती समाधान गर्नेछौँ ।”अहिले अर्थतन्त्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तवरबाट चुनौतीहरु देखा परेको रहेको उल्लेख गदै अर्थसचिव पुस्करले दृढ विश्वासका साथ काम गरे समाधान गर्न सकिने बताए ।

“अहिले आर्थिक स्थायित्व कायम गर्ने, राजस्व घाटा कम गर्ने, सार्वजनिक ऋणको व्यवस्थापन लगायतका विषय चुनौतीपूर्ण छन् । पुँजीबजारका विषयमा सबै सरोकारवाला मिलेर चुनौती व्यवस्थापन गर्नुपर्ने अवस्था छ”, उनले भने, “चुनौतीहरु बेलाबेलामा आइरहन्छन् । तिनलाई सम्बोधन गर्दै र व्यवस्थापन गर्दै जानुपर्ने हुन्छ ।” वित्त नीति र मौद्रिक नीतिका समन्वयात्मक कार्यान्वयनबाट सकारात्मक नतिजा प्राप्त गर्न सकिने उनको भनाइ छ ।

पुस्करले यसअघि पनि अर्थमन्त्रालयमा राजस्व सचिव र अर्थ सचिवका रुपमा काम गरिसकेका छन् । अर्थ मन्त्रालयमा पहिले पनि काम गरिसकेकाले कर्मचारीले आफूलाई पूर्ण सहयोग गर्ने विश्वास लिएको उनको भनाइ छ । अहिलेको बदलिँदो परिप्रेक्ष्यमा विगतमा गरिरहेको भन्दा थप मेहनतका साथ काम गर्न पनि उनले कर्मचारीलाई निर्देशन दिएका छन् ।

“हामीले नतिजामुखी काम गर्ने भनेको ‘टिमवर्क’ बाट हो । सबै साथीहरुमा काम प्रतिको लगाव छ । त्यसको सम्मान गर्दै थप जाँगरका साथ काम गर्न आग्रह गर्दछु”, उनले भने, “तपाईंरुले व्यवसायिक, जिम्मेवार र उत्तरदायी भएर कर्तव्य निर्वाह गर्नेछन् भन्नेमा विस्तस्त छु ।”

Ads

सम्बन्धित पोष्टहरू