Ads

क्यान निर्वाचन- अध्यक्षमा चतुरसँग विनय राजभण्डारी भिड्दै


काठमाडाैँ । नेपाल क्रिकेट संघ (क्यान) को नयाँ अध्यक्षमा चतुरबहादुर चन्द र विनय राजभण्डारीबीच प्रतिस्पर्धा हुने देखिएको छ।

चुनावको पूर्वसन्ध्यामा बर्दियाका विनय राजभण्डारीले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

क्यानको नयाँ नेतृत्व छनोट गर्न आजबाट केन्द्रीय अधिवेशन सुरु हुँदैछ । आज उद्घाटन र बन्दसत्र हुने छ भने भोलि नेतृत्वका लागि मतदान हुने कार्यक्रम छ । क्यानको १७ सदस्यीय कार्यसमितिका लागि ८६ जनाले मतदान गर्नेछन् ।

क्यानको शुक्रबार र शनिबार हुन लागेको चुनावी साधारण सभामा वर्तमान अध्यक्ष चन्दसँग राजभण्डारी प्रतिस्पर्धाका लागि मैदानमा उत्रिएका हुन्।

अध्यक्षमा अहिलेसम्म चन्द र भण्डारीले मात्रै चुनाव लड्ने घोषणा गरेकाले द्विपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ।

क्यानको अध्यक्षमा चतुरबहादुर दोहोरिन तयार हुँदा विनयले चुनौती दिएका हुन्। उनी लुम्बिनी प्रदेश क्रिकेट एसोशियसनका उपाध्यक्ष हुन्। विनय बर्दिया क्रिकेट संघका अध्यक्ष पनि हुन्।

विनय २० वर्षदेखि क्यानमा सक्रिय छन्। उनी बर्दियामा जिल्ला सदस्य, सहसचिव र सचिव हुँदै अध्यक्ष भएका हुन्। उनले पनि बर्दियामा दोस्रो कार्यकाल जिल्लाको नेतृत्व गरिरहेका छन्।

उनी भर्खरै लुम्बिनी प्रदेश क्रिकेट एसोसियसनको उपाध्यक्ष भएका हुन्। बिनयले नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाई केही वर्षअघि ब्याटिङ कन्सल्ट्यान्टका रुपमा काम गर्न आउँदा म्यानेजरका रुपमा काम गरेका थिए।

क्यानको नेतृत्वका लागि नेपाली टोलीका पूर्वकप्तान पारस खड्का पनि मैदानमा छन्। उनी क्यानको सचिव पदमा उठ्दैछन्।

Ads

सम्बन्धित पोष्टहरू