ताप्लेजुङ्ग\ त वर्षभन्दा यस वर्ष दोब्बर बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेको छ । अलैँचीको नयाँ उत्पादन बजारमा आउन थालेसँगै गत वर्षभन्दा दोब्बर बढी मूल्यमा कारोबार हुन थालेको हो ।
बजारमा आउन थालेसँगै नयाँ अलैँचीले उचित मूल्य पाउँदा किसान तथा व्यवसायी उत्साहित भएका छन् । सदरमुकाम फुङ्लिङ बजारमा हिजोआज नयाँ अलैँची प्रतिमन (४० किलोग्राम) रु ५६ हजारसम्ममा कारोबार भइरहेको छ । भदौको पहिलो सातापछि बजारमा आउन थालेको अलैँचीको मूल्य गत वर्षको तुलनामा दोब्बर रहेको स्थानीय व्यापारीले बताएका छन् ।
अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्षसमेत रहेका स्थानीय व्यापारी भद्रवीर रेग्मीले नयाँ अलैँची प्रतिमन रु ५५ हजारदेखि रु ५६ हजारसम्ममा कारोबार भइरहेको बताए। रेग्मीका अनुसार गत वर्ष यही मौसममा अर्थात् नयाँ अलैँची बजारमा आउन थाल्दा प्रतिमन रु २४ हजारदेखि रु २७ हजार मात्र मूल्य थियो । उनले मूल्य अस्थिर रहे पनि स्थानीय बजारमा अहिले अलैँचीले उचित मूल्य पाइरहेको जनाएका छन् ।
अलैँची व्यापारी दिनेश अधिकारीका अनुसार एक साताअघि नयाँ अलैँची प्रतिमन रु ६० हजारमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्