काठमाडौ \ नेपालीहरुका मुख्य चाडपर्व नजिकिएसँगै बजारमा मुल्यवृद्धी आकाशिएको छ । दुई महिनायता खाद्यान्न र दैनिक उपभोग्य वस्तुको मूल्य १० प्रतिशतदेखि सत प्रतिशतसम्म बढेको छ । उपभोग्य वस्तुको बजार मूल्य आकासिए पनि अनुगमन गरी बजारलाई नियमन गर्नेतर्फ राज्यले चासो राखेको छैन । जसको मारमा आम उपभोक्ता परेका छन् ।
दुई महिना अघिसम्म एक सय ३० रूपैयाँ किलो पाइने मुसुरीको दाल अहिले एक सय ६० रूपैयाँ किलो पुगेको छ । त्यस्तै किलोको एक सय ८० पर्ने रहरको दाल दुई सय ४०, ९० रूपैयाँ किलोको केराउ एक सय २०, ९० रूपैयाँ चना एक सय १०, ८० रूपैयाँ किलोको चिनी एक सय रूपैयाँ पुगेको छ ।
चामल र चिउराको मूल्य भने ५० प्रतिशत भन्दा बढीले बढेको छ भने पिठो, सूर्यमुखी तेल र तोरी तेलको मूल्य १० प्रतिशतले बढेको छ । ६ महिना अघिसम्म ६ सय रूपैयाँ किलो पाइने जिरा अहिले एक हजार चार सय रूपैयाँ पुगेको छ । खाद्यान्न मात्र होइन होटल तथा रेष्टुरेन्टका सामग्री, मरमसला, अस्पतालले दिने चिकित्सकीय सेवा, ग्याास, कपडा, भाडा वर्तन, विद्युतीय सामग्री लगायतका हरेक वस्तुको मूल्य १० प्रतिशतदेखि सत प्रतिशतसम्म बढेको छ ।
चिनीमा मनपरी
नेपाल खुद्रा व्यापार सङ्घले हरेक १५ दिनमा पुनरवलोकन गर्दै आएको खाद्य तथा किराना वस्तुका सामानको मूल्य सूचीबाट चिनी हटाएको छ । चिनीको मूल्य थोकमै मनलाग्दी भएकाले अधिकांश खुद्रा व्यापारीले चिनी बिक्री गर्न छोडेकाले मूल्य सूचीमा राख्न छोडेको सङ्घले स्पष्ट पारेको छ ।
सङ्घका कोषाध्यक्ष नरेशबाबु शाहीले थोक तथा ठुला व्यापारीले मनपरी भाउ बढाएकाले खुद्रा व्यापारको सूचीमा चिनीको मूल्य हटाउनु परेको बताएका छन् । पछिल्लो एक सातादेखि थोक व्यापारीले चिनीको भाउ आफूखुसी बढाएको भन्दै उनले भने–‘खुद्रामा त त्यति धेरै मूल्य छैन, थोकमा प्रतिकेजीको कसरी १३० रुपियाँ पुग्यो, मनपरी होइन, कहाँ छ सरकारको नियमनकारी निकाय ।’
थोक व्यापारीबाट मनपरी मूल्य तिरेर चिनी किन्नुपर्ने तर बिल नपाइने समस्याका कारण फसिने जोखिमका कारण चिनीको कारोबार गर्न छोडेको सङ्घका कोषाध्यक्ष शाहीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्