Ads

यसरी भव्य उद्घाटन भयाे १९औँ एसियाली खेलकुद, प्रधानमन्त्री दाहाल पनि सहभागी


हाङ्जाउ । १९औँ एसियाली खेलकुद २०२२ को चीनको हाङ्जाउमा भव्य उद्घाटन भएको छ । हाङ्जाउ ओलिम्पिक रङ्गशालामा शनिबार साँझ एक भव्य समारोहबीच चीनका राष्ट्रपति सि चीनफिङले प्रतियोगिताको उद्घाटन गरे ।समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी थिए । साथै परराष्ट्र मन्त्री एनपी साउद, यूवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव टङ्कलाल घिसिङलगायत उद्घाटन समारोहमा  सहभागी थिए ।

उद्घाटन समारोह करिब दुई घण्टासम्म चलेको थियो । उद्घाटनमा मार्च पासमा नेपालको झण्डा उसु खेलाडी निमा घर्ती मगर र तेक्वान्दो खेलाडी वीरबहादुर महराले बोकेका थिए । दुवै खेलाडीले सन् २०१९ मा नेपालमा भएको १३औँ साग खेदकुद प्रतियागितामा स्वर्ण पदक जितेका थिए । यस प्रतियोगितामा नेपालबाट विभिन्न २९ खेलमा दुई सय ५३ खेलाडी सहभागी छन् । जसमा महिला १२७ र पुरुष १२६ रहेका छन् ।

उद्घाटनमा ४५ देशका खेलाडी मार्च पासमा सहभागि भएका थिए । सो अवसरमा चीनका विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । एसियाली खेलकुदको इतिहासमा पहिलो पटक डिजिटल र भौतिक दुवैरुपमा टर्च प्रज्जलित गरिएको थियो । प्रतियोगिता विभिन्न ४५ देशका १२ हजार चारसयभन्दा बढी खेलाडी ४० खेलमा  सहभागी हुँदैछन् । नेपालले सन् २०१८ मा इन्डोनेसियाको जकार्तामा सम्पन्न १८औँ एसियाली खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङमा रजत पदक प्राप्त गरेको थियो ।

प्रतियोगिताको उद्घाटन शनिबार भए पनि फूटबल, क्रिकेट, भलिबल र टेबुलटेनिसका खेलहरु यसअघि नै सुरु भइसकेका छन् । सन् २०२२ मा हुनुपर्ने प्रतियोगिता कोरोना महामारीका कारण यसवर्ष आयोजना हुन लागेको हो । प्रतियोगितामा यसवर्षको नारा ‘हर्ट टु हर्ट’ अर्थात् ‘मुटुदेखि मुटुसम्म’ रहेको छ । चीनले तेस्रो पटक यो प्रतियोगिता आयोजना गर्न लागेको हो । यसअघि सन् २०१० मा पनि चीनले प्रतियोगिता आयोजना गरेको थियो । एसियाली खेलकुदको सुरुवात सन् १९९१ मा भारतको नयाँ दिल्लीबाट भएको थियो ।

नेपालबाट यसअघि सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १७औँ एसियाली खेलकुदमा दुई सय तीन खेलाडी सहभागी भएका थिए भने सन् २०१८ को इन्डोनिसियाको जकार्तामा सम्पन्न प्रतियोगितामा एक सय ८५ खेलाडी सहभागी थिए । नेपालले हालसम्म एसियाली खेलकुद प्रतियोगिताबाट तेक्वान्दो, बक्सिङ, कराँते र प्याराग्लाइडिङ खेलबाट दुई रजत र २२ कास्य पदक प्राप्त गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू