Ads

आयोडिन नूनको उपभोगले स्वास्थ्य समस्या न्यूनीकरण


सुदूरपश्चिम । आयोडिनयुक्त नून उपभोग गर्ने बानी बढेपछि आयोडिनको कमीले मानिसमा देखिने विभिन्न शारीरिक समस्या न्यूनीकरण हुँदै गएको छ । यो नूनको उपभोग गर्ने जनसङ्ख्या बढेसँगै पहिलेको जस्तो सुस्त मनस्थिति, पुट्कोपना, गलगाँड हुनेजस्ता शारीरिक समस्या न्यूनीकरण हुँदै गएको पाइएको बाजुरा जिल्ला अस्पतालका प्रमुख नृपराज गिरी बताउछन् । “आयोडिन नून र पोषणयुक्त अन्य खानेकुराको उपभोग बढेकाले हुनसक्छ, अस्पतालमा पछिल्ला दशकमा प्रसूति सेवा लिन आउने माहिलाबाट पुट्कोपना, ख्याउटेपना र सुस्त मनस्थितिका शिशु जन्मिएको विवरण देखिँदैन,” उनी भन्छन्, “गलगाँडको समस्या लिएर आउने नयाँ बिरामी पनि छैनन् ।”

आयोडिनयुक्त नूनको पहुँच सबै ठाउँमा नपुग्दा कतिपय नागरिकले विगतमा आयोडिन तत्व नभएको ढिके नून उपभोग गर्नुपर्ने बाद्यता थियो । आयोडिन तत्वका साथै भिटामिन ‘ए’ को कमीका कारण मानिसको बुझ्ने तथा सिक्ने क्षमतामा ह्रास आउने, सुस्त मनस्थितिका सन्तान जन्मिने, गलगाँड हुने, महिनावरी हुने महिलामा अत्यधिक रक्तस्राव हुने, महिनावारी अनियमित हुने ,वयस्क व्यक्तिको प्रजनन् क्षमता कमजोर हुनेलगायत स्वास्थ्य समस्या देखिने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।

आयोडिनयुक्त नूनको उपभोग गर्दा हुने फाइदा र नगर्दा हुने बेफाइदाका बारेमा पहिलेको भन्दा जनतामा चेतना बढेको पाइएको स्थानीयवासी ज्ञानबहादुर शाही सुनाउछन् । “पहिल्यैदेखि घरमा ढिके नून उपभोग गर्ने बानी परेकाहरू पनि अहिले पोकाको आयोडिनयुक्त धुलो नून उपभोग गर्ने गरेका छन्”उनी भन्छन्,”आयोडिन नूनका बारेमा अहिले सबैमा चेतना आइसकेको छ ।” उक्त नून बिक्री वितरणको दायित्व बोकेको साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले नेपालमा यो नून उपभोग गर्ने जनसङ्ख्या ९३ प्रतिशत पुगेको जनाएको छ ।

कर्पोरेशनका विभागीय प्रबन्धक ब्रजेशकुमार झा भन्छन्,“आयोडिनयुक्त नून खानुपर्छ भन्ने चेतना नागरिकमा पहिलेको भन्दा निकै बढेको छ, यसको पहुँच पनि सबैतिर पुगेको छ, आयोनूनको उपभोग गर्ने बढेसँगै मानिसको स्वास्थ्यमा देखिने विकृति अहिले पूरै हटेको छ ।”सात प्रतिशत जनसङ्ख्याले भने खुला सीमाको फाइदा उठाउँदै भारतबाट अवैधरुपमा आयात गरिने ढिके नून उपभोग गरिरहेको पाइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू