काठमाडौँ । एसियन गेम्सका लागि चीन जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले आइतबार एक कार्यक्रमबीच खेलाडीहरूलाई बिदाइ गरेका हुन् ।
नेपालले यही असोज १० (२७ सेप्टेम्बर)मा मंगोलिया र असोज १४ (१ अक्टोबर)मा माल्दिभ्ससँग खेल्नेछ । नेपालले समूह चरण पार गरेपछि भारत, पाकिस्तान, श्रीलंका वा बंगलादेशमध्ये कुनै देशसँग प्रतिस्पर्धा गर्नेछ ।
बिदाइ कार्यक्रममा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले राम्रो अभ्यास गरेको र मेडल जित्ने लक्ष्य आफूहरूको रहेको बताए । उनले मेडन हात पार्नका लागि सबै खेलाडी तयार रहेको बताए ।
उनले भने, “राम्रो अभ्यास गरेका छौँ । हामी सबैको लक्ष्य मेडल जित्ने छ । त्यसको लागि सम्पूर्ण खेलाडीहरू तयार छौँ । आउने दिनमा एकदमै राम्रो गर्नेछौँ ।”
खेलाडीहरूलाई बिदाइ गर्दै नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले आगामी दिनमा सबैले देख्नेगरी, मनोबल कमजोर नहुनेगरी आफूहरू लाग्ने बताए ।
उनले नयाँ कार्यसमितिले खेलाडीको हौसला बढाउने गरी काम गर्ने प्रतिवद्धता जनाए । नेपालले एसियाडमा हुने क्रिकेटमा मेडल जित्ने उच्च सम्भावना रहेको बताए ।
उनले भने, “पहिलाको भन्दा उत्कृष्ट रूपमा यो कार्य समितिले यहाँहरूको भावनाको कदर गर्दै आगामी दिनमा देखिने गरी मनोबल कमजोर नहुनेगरी हामी हौसला बढाउने छौँ । एसियाडको अग्रिम शुभकामना छ । हामी मेडलका लागि उच्च मनोबलका साथ खेल्नेछौँ । यसमा सम्भवना छ । नेपालको शिर उच्च हुनेगरी खेलिरहनुभएको छ । ”
कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले नेपाली क्रिकेटको नयाँ युगको सुरुवात गर्ने प्रयासमा आफूहरू रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्