काठमाडौ \ नेपालको भूमि प्रयोग गरी दोस्रो मुलुकबाट पटक पटक भइरहेको सुन तस्करीबारे विस्तृत अनुसन्धान गरी दीर्घकालीन समाधान गर्ने उद्देश्यले विस्तृत अनुसन्धानका लागि आयोग गठन गर्ने विषयमा मुख्य राजनीतिक पार्टीमा मतभेद देखिएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र का मुख्य सचेतकबिच भएको छलफलमा आयोगको कार्यादेशबारे पार्टीहरूको आआफ्नै अडानका कारण सहमति जुट्न नसकेको हो । यसअघि गत पुस १७ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको इलेक्ट्रिक सिगरेट ‘भेप’ भित्र लुकाएर ल्याएको झन्डै १० केजी तस्करीको सुनमा केही नेकपा माओवादी ९एकीकृत केन्द्र० का नेताको नाम जोडिएभन्दै निष्पक्ष छानबिनका लागि प्रमुख प्रतिपक्ष दल एमालेसहितका पार्टीले आयोग गठनको माग गरेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै गत साउन ३ गते स्कुटरको ब्रेकसुभित्र लुकाएर ल्याएको अवस्थामा ६० केजी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।
दुवै घटनामा नेपाल प्रहरीको राष्ट्रिय अनुसन्धान ब्युरो सिआइबीले अनुसन्धान गरी रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ ।
प्रहरी अनुसन्धानभन्दा पनि छानबिन आयोग नै गठन गर्न माग गर्दै विपक्षी पार्टीले लामो समय संसद् अवरुद्ध गरेपछि संसद्मा राष्ट्रिय हैसियत पाएका सात राजनीतिक दलबिच गत भदौ ६ गते आयोग गठन गर्ने सहमति भएर अवरुद्ध संसद् सुचारु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्