Ads

नेतृत्व लिन नेताहरुको दौडधुप


विराटनगर\ नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशन यही असोज १२ र १३ गते विराटनगरमा हुँदैछ। प्रदेश राजधानी विराटनगरमा अधिवेशन आयोजना हुने सो दलले जनाएको छ। अधिवेशनको तयारीलाई तीव्रता दिइरहेको एमालेले सबै जिल्लाबाट प्रतिनिधि छान्ने काम करिब सम्पन्न गरिसकेको छ।

कोशी प्रदेशको अधिवेशनमा १ हजार ४७ जना प्रतिनिधि स्थानीय तह र सङ्गठनबाट छानिएर आउने व्यवस्था गरिएको छ। पार्टी सदस्य सङ्ख्याका आधारमा प्रतिनिधि सङ्ख्या निर्धारण गरेको एमाले कोशी प्रदेशका सचिव चिन्तन पाठकले जानकारी दिनुभयो। जनवर्गीय सङ्गठन र भूगोलबाट निर्वाचित भएर आउने बाहेक प्रदेश कमिटीले ५० जना सदस्य मनोनित गर्ने व्यवस्था छ। सबै जिल्लाबाट प्रतिनिधि छानिइसकेपछि मात्र प्रदेशले मनोनीत गर्ने जनाइएको छ।

कोशी प्रदेश अधिवेशनमा ताप्लेजुङ जिल्लाबाट ४८, पाँचथरबाट ३०, इलामबाट ७७, झापाबाट १८१, तेह्रथुमबाट ४३, सङ्खुवासभाबाट ३९, भोजपुरबाट २७, धनकुटाबाट ७२, सुनसरीबाट ९६ र मोरङबाट १७८ जना प्रतिनिधि सहभागी हुने व्यवस्था छ।

यसैगरी सोलुखुम्बुबाट १६, ओखलढुङ्गाबाट ४२, खोटाङबाट ५६ र उदयपुर जिल्लाबाट ३६ जना प्रतिनिधि आउने व्यवस्था गरिएको छ। विभिन्न जनसङ्गठनले ५६ जना प्रतिनिधि पठाउनेछन् । त्यसमध्ये मजदुर सङ्गठनका लागि ३२ जना प्रतिनिधिको कोटा दिएको एमालेले जनाएको छ।

चार आकांक्षी

नेकपा एमाले कोशी प्रदेश कमिटीको अध्यक्ष पदका लागि चार जना नेताले अध्यक्षमा आकांक्षा देखाएका छन् । आकांक्षीमध्ये मोरङबाट दुई जना छन्। पार्टीका केन्द्रीय सदस्य विनोद ढकाल र घनश्याम खतिवडाले प्रदेश कमिटीको नेतृत्वका लागि दावि देखाएका हुन्। यसैगरी वर्तमान अध्यक्ष तुलसी न्यौपाने र उपाध्यक्ष टीकाराम चेम्जोङ् पनि अध्यक्ष पदका लागि प्रतिस्पर्धामा छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू