काठमाडौ\ नेपालीहरुका मुख्य चाडपर्वको समय शुरु भएको छ । यस्तो बेलामा दैनिक उपभोग्य देखि अन्य सामाग्रीहरुको समेत माग र आयात बढ्ने गर्दछ । तर यस वर्ष यस्तो देखिएको छैन । यसैगरि सरकार र राष्ट्र बैंकले पटक पटक आर्थिक क्षेत्र चलायमान र गतिशिल हुने दावि गर्दै आए पनि आयात निर्यातको सुचकले त्यस्तो देखाएको छैन । आर्थिक वर्षको दोस्रो महिनामा पनि आयात र निर्यात दुवैमा गिरावट आएको छ ।
अर्थतन्त्र लयमा फर्किँदै गएको दाबी गरिए पनि भन्सार विभागको तथ्यांकले भने त्यस्तो नरहेको दोखाएको छ । चालु आर्थिक वर्षको दोस्रो महिनामासम्म आइपुग्दा आयात ५ प्रतिशत र निर्यात ७।७६ प्रतिशतले घटेको छ । भदौमा एक खर्ब ३१ अर्बको वस्तु आयात भएको छ, जुन गत वर्षको सोही महिनाको तुलनामा ११ अर्बले कमी हो । गत आर्थिक वर्षको भदौमा १ खर्ब ४२ अर्बको वस्तु आयात भएको थियो ।
चालु आर्थिक वर्षको अहिलेसम्म २ खर्ब ५९ अर्बको वस्तु आयात भएको छ, जुन गत आर्थिक वर्षको पहिलो दुई महिनामा २ खर्ब ७३ अर्बको आयात भएको थियो । त्यस्तै चालु आर्थिक वर्षका दुई महिनामा २६ अर्ब ४४ करोडको निर्यात भएको छ । जुन गत आर्थिक वर्षको यही अवधिमा २८ अर्ब ६८ करोडको वस्तु निर्यात भएको थियो ।
चालु आर्थिक वर्षको अहिलेसम्म ३४ अर्ब ३८ करोडको पेट्रोलियम, ४ अर्बको सुन, ५ अर्बका स्मार्ट फोन, ७ अर्बको उद्योगलाई चाहिने कच्चा फलाम आएका भएको छ । त्यस्तै १ अर्ब ५० करोडको अलैंची, १ अर्ब ७९ करोडको गलैंचा र १ अर्ब २३ करोडको फलामे छड निर्यात भएको छ ।
प्रतिक्रिया दिनुहोस्