Ads

७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल


काठमाडौं । वाणिज्य विभागले कालोबजारी गरेको आरोपमा काठमाडौंको सबैभन्दा ठूलो चिनी गोदाम सिल गरेको छ । कुलेश्वरमा रहेको गृहेश्वरी ट्रेडलिंकको गोदाममा कृत्रिम भण्डारण गरेर राखिएको र लेबल अस्पष्ट भएको चिनीको गोदाम सिल गरेको हो ।

विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले चिनीको गोदाम सिल गरेर चिनीको गुणस्तर परिक्षणका लागि पठाइएको पुष्टि गरे । ‘गृहेश्वरी ट्रेडलिंकको चिनी गोदाम सिल गरिएको छ । करिब ७० हजार किलो चिनी भण्डारण गरेको भेटिएको छ,’ पोखरेलले भने,‘अहिले चिनीको गोदाम सिल गरेर चिनीको गुणस्तर परीक्षणका लागि पठाइएको छ ।’

व्यवसायी सन्तोष खेतानको उक्त फर्मले उद्योगहरुबाट सस्तोमा खरिद गरेको चिनी काठमाडौंमा बिल बिजकविना नै महँगो मूल्यमा बिक्री गरेको आरोपमा विभागमा उजुरी परेको थियो । यस्तै उनको सोही गोदामबाट ठूलो परिमाणमा दाल पनि बरामद भएको छ । यसबारे विभागले थप अनुसन्धान गरिरहेको छ ।

खुद्रा व्यापार संघका अधिकारीहरुका अनुसार १२७ रुपैयाँ किलो होलसेलमा चिनी बिक्री गरेर खेतानले १०५ रुपैयाँको मात्रै बिल दिने गरेका थिए । दुई साता अघिसम्म ११० रूपैयाँ किलोमा बिक्री भइरहेको चिनी पछिल्लो समय एकाएक १३० रूपैयाँ किलोसम्म पुर्‍याइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू