Ads

एम्बुलेन्समा गाँजा तस्करी


विराटनगर । प्रहरीले विराटनगर–१८ लाभाघाटबाट गाँजा बोकेको एम्बुलेन्ससहित चालकलाई नियन्त्रणमा लिइएको छ । इलाका प्रहरी कार्यालय बुधनगरको टोलीले को १ च ४६१९ नम्बरको एम्बुलेन्समा गाँजा लैजाँदै गरेको अवस्थामा चालकलाई पक्राउ गरेको हो ।

मोरङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालका अनुसार विशेष सूचनाका आधारमा त्यहाँ पुगेको एम्बुलेन्सलाई चेकजाँच गरिएको थियो । दशगजातर्फ गइरहेको एम्बुलेन्स चेकजाँच गर्दा डिकीमा लुकाएको अवस्थामा २१.५ केजी गाँजा बरामद भएको थियो ।

राजन अधिकारी फाउण्डेसन धरानद्वारा सञ्चालित एम्बुलेन्सका चालक ३८ वर्षीय गङ्गा सरकारलाई प्रहरीले गाँजा बरामद भएपछि नियन्त्रणमा लिएर जिल्ला अदालत मोरङबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । सरकारको साथबाट ४० हजार रुपियाँसमेत बरामद भएको छ । चालक धरान–११ निवासी हुन् ।

 

सीमानजिक एम्बुलेन्समा गाँजा बरामद भएपछि आसपास खोजतलास गरिएको थियो । त्यस क्रममा भारतीय बीआर ३८ एएफ ०३३६ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको जानकारी दिइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू