काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११औँ महाधिवेशनका लागि पुनःअध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छिन् । उनले शुक्रबार पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेकी हुन् । दशौँ महाधिवेशनमा निर्वाचन हुन नसकेपछि अध्यक्ष पदका तीनै जना उम्मेदवारले पालैपालो अध्यक्षकारूपमा काम गर्ने सहमति भएको थियो । उम्मेदवारी घोषणा गर्दै उनले एनआरएनए ग्लोबल फण्डको महत्त्वाकांक्षी कार्यक्रम घोषणा गरेकी छिन् । “म नेतृत्वमा पुगे लगत्तै एनआरएनए ग्लोबल फण्ड स्थापना गरिनेछ”, अध्यक्ष थापाले भनिन् , “जुन नेपाल र नेपालीको समृद्धिका लागि सारथि मात्र होइन, सङ्कट पर्दाको सञ्जीवनीसमेत हुनेछ ।”
एनआरएनएको प्रत्येक सदस्यले गर्व महसुस गर्ने यो कोष सङ्घको सबैभन्दा ठूलो कोष हुने उनले बताइन् । एनआरएनएको इतिहासमा पहिलो पटक अध्यक्ष महिलाकारूपमा छोटो अवधि काम गरेको आधारमा निर्वाचित भएर एक कार्यकाल काम गर्न चाहेको उनको भनाइ थियो । आफ्नो कार्यकालमा महत्त्वपूर्ण उपलब्धि भएको, गैरआवासीय नेपाली नागरिकताका लागि संसद् र नेपाल सरकारले महत्त्वपूर्ण निर्णय गरेको, नवौँ राष्ट्रिय खेलकुदमा पहिलोपटक एनआरएनएको टिम सहभागी भई पदक जितेको र सङ्घको काठमाडौँस्थित कार्यालयको पूर्वाधार विकास, (लिफ्टदेखि घेरा पर्खालसम्म) अपाङ्गमैत्री बनाएको उनले जानकारी गराइन् ।
सङ्घको अबको नेतृत्व समझदारी, सहकार्य र एकताको पक्षपाती हुनुपर्ने आवश्यकतामा जोड दिँदै अध्यक्ष थापाले यो संयोजनकारी भूमिकामा आफू नै उपयुक्त र सक्षम रहेको दाबी गरिन् । उनले निर्वाचनलाई भड्किलो बनाउन नहुनेमा जोड दिँदै आफू महाधिवेशन प्रतिनिधिले मात्र नभई एनआरएनएका प्रत्येक पञ्जिकृत सदस्यले मतदान गर्न पाउनुपर्ने पक्षमा रहेको दोहोर्याइन् । विदेशमा बस्ने नेपाली सबैको अवस्था एउटै नभएको उल्लेख गर्दै खाडीमा काम गर्ने श्रमिक दाजुभाइदेखि विद्यार्थी र सामाजिक तथा आर्थिक हैसियत बनाएका सबैको भावनाको प्रतिनिधित्व हुने नेतृत्वमा उनले जोड दिइन् ।
उनले सो अवसरमा २५ बुँदे घोषणापत्र सार्वजनिक गर्दै सङ्घको संरचनागत सुधारदेखि नेपाल र नेपालीको समृद्धिका लागि नेपाल सरकारसँग सहकार्यका विषय उल्लेख गरिन् । स्वास्थ्य, शिक्षा, पूर्वाधार, पर्यटन सञ्चार, कृषि ऊर्जालगायतका विभिन्न क्षेत्रमा उनको योजना र अवधारणा घोषणापत्रमा समेटिएको छ ।
प्रतिक्रिया दिनुहोस्