Ads

कोरला नाका खुल्ला गर्ने तयारी


जोमसोम\ नेपाल–चीनबीचको कोरला नाका खुला गर्ने तयारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका बेला दुवै देशको नाका खोल्न सहमत भएपछि तयारी थालिएको हो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले नाका खोल्ने निर्णय भए पनि कहिलेबाट खुला हुने भन्ने निर्णय हुन बाँकी रहेको जानकारी दिएका छन् ।

कोरोना महामारी सुरु भएपछि व्यापारिक मेलासमेत कोरलामा नलगेकाले नाका औपचारिक रूपमा खुला हुनुभन्दा अघि नै मेला आयोजना गर्ने तयारीमा मुस्ताङ प्रशासन छ । “दसैँ आउन लागेको छ । व्यापारिक मेला केही दिनमा गर्न सके स्थानीयलाई राहत हुन्थ्यो भनी लागेका छौँ ” –पन्तले भने ।

नेपालका लागि चिनिया राजदूतावासले नेपाली पक्षलाई साताअघि कूटनीतिक नोट पठाएर कोरला नाका खोल्ने जनाउ दिएको थियो । यसका लागि नेपालले सीमा क्षेत्रमा बसोबास गर्ने मुस्ताङीका लागि प्रवेश अनुमतीपत्र जारी गर्ने र अनुमतीपत्रको नमुना चिनियाँ पक्षलाई उपलब्ध गराउने तयारी छ ।

असोज ३ गते चिनियाँ दूतावासले पठाएको कूटनीतिक नोट गृह मन्त्रालयले मुस्ताङ प्रशासनलाई पठाएर नाका खोल्ने तयारी गर्न भनेको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी पन्तले १५ अक्टोबरमा नेपाल र चीनका अधिकारीबीच बैठक बस्ने तयारी भएको जनाए। सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमिको प्रयोग गरेर विद्रोहमा उत्रिएका थिए । सोही विद्रोहका कारण २०३२ पछि कोरला नाका आवत–जावतमा कडाइ गरिएको थियो । २०५८ सालसम्म रोकतोक नरहेको सीमा २०५९ देखि चीनले तारबार गरेर मेला बाहेकको अवधिमा बन्द गर्न थालेको हो ।

Ads

सम्बन्धित पोष्टहरू