विराटनगर–नेकपा एमाले कोशी प्रदेशको अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।
विराटनगरमा दुई दिनसम्म चल्ने अधिवेशनमा स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय नेताहरू सहभागी हुनुहुनेछ । यस्तै सम्पर्क मञ्च र कमिटीबाट पनि नेताहरुलाई आमन्त्रण गरिएको छ ।
अधिवेशनमा १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुरसमेत गरी एक हजार ४७ प्रतिनिधि र पर्यवेक्षक सहभागी हुनुहुनेछ । अधिवेशनले पाँच पदाधिकारीसहित २१५ सदस्यीय कमिटी चयन गर्नेछ ।
कोशी प्रदेशको नयाँ नेतृत्व सर्वसहमतिले चयन गर्ने नेताहरुले बताएका छन् । हिजो अधिवेशनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रदेश इन्चार्ज रघुवीर महासेठले नेतृत्व चयन सर्वसम्मत गर्ने बताएका छन्। सहमति हुन नसके मात्रै निर्वाचन गर्ने उनको भनाई छ ।
बागमतीमा मतदान हुँदै
नेकपा एमाले बागमती प्रदेश कमिटीको मतदान शुक्रबार हुँदैछ । अध्यक्षमा सहमतिको प्रयास जारी रहेको भन्दै बिहीबार साँझ ६ बजेबाट हुने भनिएको मतदान शुक्रबारका लागि सरेको हो ।
शुक्रबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदानको समय तोकिएको छ । प्रदेश अध्यक्षका लागि कृष्ण दाहाल, कैलाश ढुंगेल, सानुकुमार श्रेष्ठ, केशव पाण्डे र केशरबहादुर बुढाथोकीको उम्मेदवारी परेकोमा तीन जनाले फिर्ता लिएपछि दाहाल र ढुंगेलको मात्रै उम्मेदवारी कायम भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्