काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रमुख दलहरूलाई जनताका पक्षमा काम गर्न अन्तिम अपिल गरेका छन् । देशमा व्यप्त बेथितिलाई ठीक गर्ने अन्तिम अवसरका रूपमा अबका चार वर्ष सबै दलहरूलाई मिलेर काम गर्न उनले अपिल गरेका हुन् ।
सबै दल मिलेर सहमतीय सरकार बनाउँदा आफूहरूले प्रतिपक्षी मोर्चा सम्हाल्ने उनको भनाइ छ। ‘यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर तिनलाई ढाक छोप गरी प्रमाण लुकाएर, थप अपराधीहरूलाई छुटाउने बचाउने हो त्यो तपाईंहरूको जिम्मा,’ शुक्रबार बिहान उनले फेसबुकमार्फत् भनेका छन्, ‘तर तपाईंहरूले मिसन ८४ भनेर भनेको त फिटिक्कै सुहाएन।
तपाईको लागि त मिसन ८० नै छ त ! ०७ सालदेखि निरन्तर मिसन नै मिसन थियो त !! केही नभए पनि मिसन ६३ देखि त अवसर नै अवसर थियो होला। अझ मिसन ८०, मिसन ८१, मिसन ८२, मिसन ८३ छँदै छ त! यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामी जस्ता नयाँ, लोकरिझ्याईवाला, सिद्धान्त नभएका, आफ्नै सहिद नभएका दललाई पूरै असान्दर्भिक बनाइदिनुस्।’
४ वटा सही निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्ने उनको भनाइ छ । ‘४/४ वर्ष बाँकी छ, गर्नुस् काम र देखाइदिनुस् आफ्नो अपार क्षमता। जनताले तपाईहरूलाई यसरी भोट दिउन् कि हाम्रो जमानत जफत होस्,’ उनले लेखेका छन्, ‘४ वटा सही निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्छ, तपाईंहरूसँग ४/४ वर्ष छ। गर्नुस् निर्णय र देखाइदिनुस् हामी सबैलाई। राजनीतिको एउटा सटर त बन्द हुनैपर्छ हजुर!! कि तपाईंको कि हाम्रो। ४ वर्ष अघि नै एड्भान्समा घण्टी बजाएर सचेत गराएको छु,सोच्नु होला।’
प्रतिक्रिया दिनुहोस्