काठमाडौं । नेपाल एमाले कोशी प्रदेशको नेतृत्वका लागि मतदान सम्पन्न भएको छ । राति पौने दश बजेदेखि सुरु भएको मतदान आज बिहान साढे ५ बजे सम्पन्न भएको हो । मतदानमा नौ सय ७७ जना प्रतिनिधि सहभागी भएका थिए ।
दुई सय १५ सदस्यीय प्रदेश कमिटीका लागि भएको चुनावमा २० जनाले मतदान गरेनन् । एमाले कोशी प्रदेश अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडा चुनावी प्रतिस्पर्धामा छन् । मतगणना दिउँसो १ बजेदेखि हुने र आजै परिणाम सार्वजनिक गर्ने तयारी रहेको प्रमुख निर्वाचन अधिकृत चुडामणि आचार्यले जानकारी दिए ।
सचिवमा उदयपुरका शैलेश लामा र पाँचथरका राजकुमार भण्डारी उम्मेदवार छन् । यसैगरी २ जना उपसचिवका लागि ३ जनाको उम्मेदवारी परेको छ । जसमा खोटाङका देवान राई, मोरङका खेम नेपाली र झापाकी जलवर्षा राजवंशी उम्मेदवार छन् । जारी प्रदेश अधिवेशनमा उपाध्यक्षमा टीकाराम चेम्जोङसहित ४९ जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
गण्डकीको शुरु हुँदै
कास्की । नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशन आजदेखि पोखरामा हुँदैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्ने एमाले गण्डकी प्रदेश अधिवेशन आयोजक कमिटीले जनाएको छ । उद्घाटन समारोह पूर्व पोखराका हस्पिटल चोक, औधोगिक क्षेत्र, बुद्धचोक र बसपार्कदेखि झाँकीसहितको र्याली प्रदर्शन गर्ने एमालेले जनाएको छ।
आज र भोलिका लागि तय भएको अधिवेशन निर्धारित समयभन्दा बढी लाग्न सक्ने एमाले सचिव तथा गण्डकी इन्चार्ज गोकर्ण विष्टले जनाए । उनकाअनुसार आज उद्घाटन भई भोलि मंगलबार बन्दसत्र सुरु हुने र सम्भव भएसम्म भोलि नै दिन विद्युतीय भोटिङ मेसिनको प्रयोगबाट मतदान सुरु हुनेछ । गण्डकीका ११ जिल्लाबाट कुल ९ सय ७ जना प्रतिनिधि छनोट गरिएको छ । नयाँ नेतृत्वका लागि अधिवेशनमा प्यानल बनाएर उम्मेदवारी दर्ता गराए उम्मेदवारी नै खारेज गरिदिने चेतावनी विष्टले दोहार्याएका छन् । सर्वसम्मत रुपमा नयाँ नेतृत्वको प्रयास भइरहेकोमा त्यो हुन नसके निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्