काठमाडौ\ बढ्दो आर्थिक मन्दीको प्रभाव उद्योग क्षेत्रमा नराम्ररी परेको छ । मन्दीका कारण ठुलो संख्यामा उद्योगहरु बन्द भएको पाईएको छ भने यो क्रम अझै बढ्ने उद्योगी व्यवसायीहरु बताउँछन् ।
गत वर्ष मात्र २० प्रतिशत साना तथा मझौला उद्योग बन्द भए । यस्तै ठूला उद्योग पनि बन्द हुने क्रम बढेको छ । राष्ट्र बैंकले गत वर्ष विदेशी मुद्रा सञ्चिति खस्किएपछि आयातमा कडाइ गर्दै कसिलो मौद्रिक नीतिमार्फत ब्याजदर उच्च बनाए पछि मागमा कमी आएको पाईयो ।
सोहीकारण उद्योगहरु अहिले २५ प्रतिशत क्षमतामा मात्रै चलेको व्यवसायीको दाबी छ । सिमेन्ट उत्पादक संघका अनुसार अधिकांश सिमेन्ट उद्योग २० प्रतिशत क्षमतामा पनि चलेका छैनन् भने १० वटा उद्योगमा उत्पादन ठप्प छ । यस्तै, दैनिक उपभोग्य सामानको बिक्री १८ र विद्युतीय उपकरणको बिक्री ५५ प्रतिशतले घटेको छ । बजारमा वस्तुको मागमा आएको कमीसँगै उद्योग बन्द हुने क्रम बढेको नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालको भनाइ छ ।
नयाँ उद्योग स्थापनामा पनि निजी क्षेत्रको उत्साह घट्दै गएको छ । आर्थिक वर्ष ०७४\७५ मा ४९८ वटा उद्योग दर्ता भएकामा गत वर्ष ३२२ वटा मात्रै दर्ता भएका छन् । भएका उद्योग पनि बन्द भइरहेको उद्योग विभागले जनाएको छ । पछिल्लो एक वर्षमा मात्रै विदेशी लगानी भएका ५ वटा उद्योग खारेजीमा गएको विभागका निर्देशक हरि पंगेनीले जनाकारी दिए ।
उद्योग विभागमा अहिलेसम्म ८ हजार ९ सय ४७ उद्योग दर्ता छन् । यसमध्ये ठूला १५ दशमलव एक, मझौला २३ दशमलव १ र साना ६१ दशमलव ८ प्रतिशत हुन् । उच्च ब्याजका कारण गत वर्ष २० प्रतिशत साना उद्योगीले उद्योग नै नवीकरण गरेनन् । यो वर्ष पनि १५ देखि २० प्रतिशत उद्योग बन्द भइसकेका छन् । १० प्रतिशत उद्योग आंशिक रुपमा बन्द भएको घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले जनाए ।
प्रतिक्रिया दिनुहोस्