Ads

‘पुँजीवादको विकृतिबाट मुक्ति पाउने एउटै मात्र बाटो समाजवाद’: नेता खनाल


काठमाडौं । नेकपा एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनालले पुँजीवादको विकृतिबाट मुक्ति पाउने एउटै मात्र बाटो समाजवाद भएकाे बताएका छन ।

सोमबार ‘समाजवादी जागरण अभियान’का क्रममा इटहरिमा सम्बोधन गर्दै नेता खनालले समाजवाद भनेको शोषणलाई समाप्त पार्ने व्यवस्था भएकाे बताए हुन ।

खनालले पुँजीवादी व्यवस्थाभित्र शोषणको अन्त्य नहुने बताए। जसरी पनि मुनाफा कमाऊ भन्ने नै पुँजीवादको कुरा भएको उनले बताए। ‘पुँजीवादले तस्कर र अनेक प्रकारका कालाबजारी पाल्छ’, उनले भने, ‘पुँजीवादको विकृतिबाट मुक्ति पाउने एउटै मात्र बाटो समाजवाद हो।’

‘समाजवाद भनेको शोषणलाई समाप्त पार्ने व्यवस्था हो। समाजवादमा मान्छेले मान्छेलाई शोषण गर्न पाउँदैन। समाजवादमा एक वर्गले अर्को वर्गलाई शोषण गर्न पाउँदैन। शोषणलाई समाप्त गर्ने व्यवस्थाको नाम हो, समाजवाद। त्यसैले हामी त्यो आदर्श बाटोतर्फ अगाडि बढ्न चाहन्छौँ’, उनले भने।

सम्बोधनको अधिकांश समय पुँजीवादलाई कटाक्ष गर्न खर्चिएका खनालले भ्रष्टाचार नगरी पुँजीवाद एक सेकेन्ड पनि बाँच्न नसक्ने दाबी गरे। ‘पुँजीवाद भनेको भ्रष्ट व्यवस्था हो। पुँजीपति वर्गले हाम्रा श्रमिकहरूको शोषण नगरीकन एक सेकेन्ड पनि बाँच्न सक्दैन। त्यसैले पुँजीवाद भनेको शोषणको व्यवस्था हो। पुँजीवाद भनेको श्रमिकहरूको रगत पसिना खाने व्यवस्था हो। त्यसैले पुँजीवादबाट हाम्रो देशको अग्रगति सम्भव छैन’, उनले भने।

खनालले आफूहरू पुँजीवादी शोषण र अन्यायको व्यवस्थालाई अन्त्य गर्दै समाजवादको दिशामा अगाडि बढ्न चाहेको बताए। ‘हामीले भ्रष्टाचारलाई अन्त्य गर्ने हो भने भ्रष्टाचार गर्नै नपर्ने, मनै नलाग्ने व्यवस्था ल्याउन सक्नुपर्छ’, उनको भनाइ छ, ‘त्यो व्यवस्था भनेको समाजवादी व्यवस्था मात्रै हो।

Ads

सम्बन्धित पोष्टहरू