ताप्लेजुङ\ ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित तमोर नदीमा पक्की मोटरेबल पुल निर्माण सम्पन्न भएको छ । पुल बनेपछि यातायात सहज भएको छ । गाउँपालिकाको वडा २ खेजेनिम र वडा ३ लिङ्खिमको सिँवा जोड्नेगरी नदीमा पुल निर्माण भएपछि यातायात सेवा सहज भएको हो ।
लामो समयदेखि पुलको अभावमा यातायात सुविधाबाट वञ्चित रहेका स्थानीयवासीलाई पक्की मोटरेबल पुल निर्माणले राहत मिलेको छ । पुल निर्माणपछि अब हिउँद बर्खे अर्थात् बाह्रै महिना यातायात सेवा सञ्चालनमा रहने भएको छ । पुल निर्माणसँगै यातायात सुविधा पुगेपछि फक्ताङ्लुङ गाउँपालिका–१ सावादिन, वडा २ खेजेनिम र वडा ३ इखाबुको तल्लो क्षेत्रका बासिन्दालाई राहत पुगेको छ ।
खेजेनिमका वडाध्यक्ष भूपेन्द्र चौलागाईँकाअनुसार तमोरमा पक्की पुल बनेपछि टोल–टोलका बस्तीसम्म यातायातको पहुँच पुगेको छ । प्रत्येक टोलका बासिन्दाले घरआँगनबाटै गाडीमा यात्रा गर्न पाएका छन् ।
खाद्यान्नलगायतका आवश्यकी सामग्री गाउँसम्म ढुवानी गर्न र अलैँची, गोलियालगायत निर्यातजन्य सामान निकासी गर्नलाई सहज भएको स्थानीयको भनाइ छ । तमोर नदीको सो पुल निर्माण गर्न कोशी प्रदेश सरकारको नौ करोड ८१ लाख रुपियाँ खर्च भएको छ । मैनाचुली निर्माण सेवा प्रालि झापाले भ्याटसहितको उक्त बजेटमा मोटरेबल पुल निर्माण गरेको हो ।
निर्माण प्रालिका आधिकारिक प्रतिनिधि कृष्ण बस्नेतका अनुसार कोरोना महामारीका कारण सुरुको सम्झौताअनुसारको अवधिमा काम सम्पन्न भएको थिएन । पछि थप भएको समयावधि भने २०८० असार मसान्तसम्म भएकोमा सो समय अगावै अर्थात् असार १५ भित्रै पुल निर्माणको कार्य सम्पन्न भएको बस्नेतले जनाए ।
सो मोटरेबल पुलको लम्बाई ५७ मिटर रहेको छ । यता, पक्की मोटरेबल पुल निर्माण हुनुअघि नदीमा पानी घटेको समय हिउँद मौसममा गाउँपालिकाद्वारा काठको अस्थायी पुल निर्माण गरी यातायात सञ्चालन गर्ने गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्