Ads

जलकुम्भी झारबाट कम्पोष्ट मल


सुनसरी \ जैविक खेती प्रणालीलाई सहयोग पुर्‍याउने उद्देश्यले मिचाहा प्रजातिको जलकुम्भी झारबाट कम्पोष्ट मल बनाउन सुरु गरिएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षको सिमसार क्षेत्रमा रहेको जलकुम्भी झारबाट कम्पोष्ट मल बनाउन सुरु गरिएको हो ।

कोशी टप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रका किसानलाई जैविक खेती गर्न उत्प्रेरित गराउन मल बनाउन सुरु गरिएको कोशी टप्पु सिकाई थलो (लर्निङ्ग ग्राउण्ड्सका) अध्यक्ष राजुमार सिंहले जानकारी दिए । आरक्षको मध्यवर्ती क्षेत्रमा जीविकोपार्जन, संरक्षण र शिक्षामा काम गर्दै आएको संस्थाले मध्यवर्तीको सिमसार क्षेत्रलाई संरक्षण गर्न जलकुम्भी हटाउने अभियान चलाएको छ । सिमसारसँग जोडिएका मध्यवर्ती क्षेत्रका स्थानीय कृषकहरूलाई कम्पोष्ट मल बनाउने सिप सिकाएर जलकुम्भी झारलाई नियन्त्रण गर्न सुरु गरिएको अध्यक्ष सिंहको भनाई छ ।

सुनसरीको कोशी गाउँपालिका– ३ मा जलकुम्भी झारलाई सङ्कलन र कटीङ्ग गरेर कम्पोष्ट मल बनाउन सुरु गरिएको छ । कोशी टप्पु मध्यवर्ती क्षेत्रका ताल र सिमसार क्षेत्रहरूमा अहिले ढकमक्क जलकुम्भी छ । झारले गर्दा मध्यवर्ती क्षेत्रका सिम क्षेत्रहरू भरिभराउ छन् ।तराईका सिमसार क्षेत्रहरूमा ठुलो समस्याका रूपमा देखा परेको मिचाहा प्रजातिको जलकुम्भी झारबाट कम्पोस्ट मल बनाउन सुरु गरेसँगै जलकुम्भी झारको समेत नियन्त्र हुने भएको छ । कोशी टप्पु लर्निङ्ग ग्राउण्ड्सको आर्थिक सहयोगमा मल बनाउन सुरु गरिएको अध्यक्ष राजुमार सिंहले जनाए ।

Ads

सम्बन्धित पोष्टहरू