Ads

पाथिभरा जाने सडक निर्माण निराशाजनक


ताप्लेजुङ\ ताप्लेजुङको पाथीभरा सडकअन्तर्गत सुकेटारबाट काफ्लेपाटीसम्मको खण्ड कालोपत्र गर्ने कामको ठेक्का लागेको दुई वर्ष बितिसकेको छ । लाखौँ तीर्थयात्री आवतजावत हुने सो सडकखण्डमा कालोपत्र गर्न ठेक्का लागेको दुई वर्षसम्म पनि कामको प्रगति भने निराशाजनक रहेको छ ।

पाथीभरा जाने बाटोको गुप्ते क्षेत्रमा निर्माण कम्पनीका आवश्यक उपकरण खिया लागरे बेवारिसेजस्तै बनेको देख्न सकिन्छ । पाथीभरा दर्शन गर्न जाने तीर्थयात्रीको सास्ती उस्तै छ । कालोपत्र हुने सडको स्तरोन्नति खासै भएको देखिँदैन ।

ठेक्का सम्झौता समयावधि सकिन अब आठ महिना मात्र छ, तर अहिलेसम्म प्रगति भने ११ प्रतिशतमात्र भएको जनाइएको छ । दुई वर्ष छ महिनामा सक्ने गरी काठमाडौँको कन्टेक प्रालिले कालोपत्रको ठेक्का लिएको थियो ।

सो कम्पनीसँग विसं २०७८ पुस ११ गते सुकेटारबाट काफ्लेपाटीसम्मको १० किलोमिटर कालोपत्र गर्ने ठेक्का सम्झौता भएको थियो । रु ९५ करोडको ठेक्का खुलेकामा कन्टेकले रु ४१ करोड ७६ लाख ४७ हजार अर्थात् ४६ प्रतिशत घटीमा ठेक्का पारेको थियो ।

विसं २०८१ को जेठ मसान्तसम्ममा काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ । सोअनुसार हालसम्म करिब ७० प्रतिशत काम सकिसक्नुपर्नेमा ११ प्रतिशत पनि नभएको ताप्लेजुङ उत्तर–दक्षिण ओलाङचुङगोला सडकका सबइन्जिनीयर यहोसु लिम्बूले बताए ।

कामका लागि जति ताकेता गरे पनि ठेकेदार कम्पनीले अटेर गरेर काममा ध्यान नदिएको उनको भनाई छ। सडकको काम समयमै सकिने सम्भावना ज्यादै न्यून रहेको उनले बताएका छन् ।

सडक कालोपत्रका लागि आवश्यक कच्चा पदार्थ ढुङ्गा, गिट्टी र बालुवाको समस्या भएकाले कामले गति लिन नसकेको निर्माण कम्पनी कन्टेकका इन्जिनीयर मदन कत्यादले जनाए ।

ठेकोदारले काम नगर्दा पाथीभरा जाने सडक कालोपत्र नहुने स्थितिमा पुगेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताएका छन्। पाथीभरा जाने सडकका विषयमा गत १४ गते आइतबार सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, सांसद योगेश भट्टराई, निर्माण व्यवसायी गणेश मैनालीसहित सम्बधित विभागका प्रमुखको उपस्थितिमा निर्माण कम्पनीले तत्काल यातायाता सहज बनाउन काम सुरु गर्ने समहति भएको सडक विभागले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू