Ads

नेपालगन्जको अवस्था क्रमशः सुधारिँदै,कर्फ्यु आंशिक रुपमा हटाईयो


नेपालगन्ज, धार्मिक तथा साम्प्रदायीक सद्भाव भड्किने स्थिती आए पछि कफृयू लगाएका कारण नेपालगन्जको अवस्था क्रमशः सुधारिँदै गएको छ ।  मङ्गलबार दिउँसो १ बजेदेखि कफ्र्यु लगाएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मङ्गलबार अपराह्न ३ बजेसम्म केही छिटपुट घटना भए पनि त्यसयता कुनै पनि घटना नभएको र नगर शान्त तथा सामान्य अवस्थामा फर्कंदै गएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता नारायण डाँगीले नगरको अवस्था शान्त र सामान्य बन्दै गएको जनाउँदै कफ्र्युको पालना गर्न र घरमै बस्न आमनागरिकसँग आग्रह गरिएको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेले बुधबार दिउँसो नेपालगन्जमा सद्भाव र शान्तिका लागि निर्णय लिने उद्देश्यले सर्वपक्षीय बैठक बोलाइएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले नगरको शान्ति सुरक्षा मजबुत बनाउँदै सद्भाव र एकता बहाल गर्न सबै पक्षलाई बोलाएर सहमत गराई अवस्था सामान्य पार्ने प्रयास भइरहेको जनाए ।

जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकमा सहभागी अधिकांशले नेपालगन्जमा शान्ति र सद्भाव कायम गर्नु अपरिहार्य भएको जनाउँदै सोका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

बैठकमा लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष पाण्डे, बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य डा. धवलशमशेर राणा, प्रदेश सभा सदस्य कृष्णा केसी नमुना, पूर्वमन्त्री मोहम्मद इस्तियाक राई, नेपाल प्रहरीका प्रदेश प्रमुख डिआइजी उमेशराज जोशी, राजनीतिक दलका नेता, धार्मिक सङ्घ संस्थाका अगुवाको उपस्थिति थियो ।

सहभागी सबैले दुई दिनभित्र शान्ति र सद्भाव कायम गरेर नेपालगन्जलाई पुरानै अवस्थामा फर्काउने सहमति भएको बैठकमा सहभागी पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले बताए ।

यसैबिच अत्यावश्यक कामले बाहिर निस्केका सर्वसाधारणलाई सामान्य सोधपुछ गरेर प्रहरीले गन्तव्यतर्फ जान दिएको स्थानीयले जनाएका छन् । यसअघि जमुनाहा नाकामा फसेका करिब एक हजार नेपालीलाई नेपालगन्ज ल्याएर सम्बन्धित ठाउँतर्फ प्रहरीले पठाएको छ भने राँझा विमानस्थलसम्म जाने यात्रुलाई पनि सहज रूपमा आउन जान दिइएको छ । एक पटक फेरि पनि सबै समुदायका धर्मगुरु र अगुवाले शान्ति र सद्भाव कायम गर्न अपिल गर्दै सबैले एक अर्काको धर्मको सम्मान गर्नुपर्नेमा जोड दिएका छन् ।

कर्फ्यु आंशिक रुपमा हटाईयो

तीन दिनदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको लगाइएको कर्फ्यु आंशिक रुपमा हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गरी आज बिहान ८ बजेदेखि साँझ ८ बजेसम्मका लागि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको जनाएको छ । आज साँझ ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म भने कर्फ्यु जारी रहने छ ।

आज बिहानदेखि साँझसम्म कर्फ्यु खुकुलो पारिए पनि निषेधाज्ञा भने जारी छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै ५ जनाभन्दा बढी भेला हुन, जुलुस निकाल्न, भेला बैठक गर्न, पोष्टर पर्चा टाँस्न रोक लगाउँदै निषेधाज्ञा भने जारी राखेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू