Ads

पराकम्प जाने क्रम जारी, निरीक्षणका लागि प्रधानमन्त्री जाँदै


काठमाडौं । बझाङमा गत मंगलबारको भूकम्पपछि परकम्प जाने क्रम जारी छ । गएराति पनि दुई पटक परकम्प गएको रेकर्ड छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको रेकर्ड अनुसार गएराति चैनपुर आसपास केन्द्रविन्दु भएर १० बजेर ५२ मिनेटमा ४.५ र १२ बजेर २३ मिनेटमा ३।९ म्याग्निच्युडको परकम्प गएको छ । केन्द्रका अनुसार मंगलबारयता तीन सयभन्दा धेरै साना–ठूला परकम्प गएका छन् ।

गत मंगलबार बझाङको तालकोट केन्द्रविन्दु भएर ५.३ र चैनपुर केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले अहिले पनि परकम्प जाने र धक्का महसुस भइरहेको जानकारी दिए ।उनका अनुसार धक्का जाने क्रम विगतको तुलनामा काम हुँदै गएपछि स्थानीयको जनजीवन विस्तारै सामान्य हुँदै जान थालेको छ । घर पूरै भत्किएकाहरु अहिले पनि सार्वजनिक स्थानमा टेन्टमुनि बसिरहेका छन् । भूकम्प प्रभाविहरुलाई राहत बाँड्ने क्रम जारी छ ।

प्रदेश सरकारले उपलब्ध गराएको राहत बिहीबार बझाङ पुगेको छ । आज केन्द्र सरकारले उपलब्ध गराएको राहत ट्रक मार्फत् जिल्ला आउँदै गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए । त्यसअघि रेडक्रस लगायतका संघसंस्थाले टेन्ट र केही खाद्यान्न प्रभावितहरुलाई उपलब्ध गराएका थिए । राहत वितरण एकद्वार प्रणालीबाट भइरहेको छ ।

भूकम्पबाट कति प्रभावित भए र क्षतिको अवस्था कस्तो छ भनेर अझै पनि एकिन भइसकेको छैन । भूकम्पमा परी १ जनाको मृत्यु र २० जना घाइते भएको विवरण भए पनि भौतिक पूर्वाधारतर्फ भएको क्षति एकीन भइसकेको छैन ।

निरीक्षणका लागि प्रधानमन्त्री जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भूकम्प प्रभावित बझाङ जिल्ला जाँदैछन् । उनी बिहान साढे १० बजेपछि नेपाली सेनाको हेलिकप्टरबाट बझाङ प्रस्थान गर्ने कार्यक्रम छ ।उनले भूकम्पले बढी क्षति पुर्याएका स्थानको अवलोकन गर्ने र जिल्ला विपद व्यवस्थापन समितिसँग अन्तर्क्रिया गर्ने लगायत कार्यक्रम निर्धारण गरिएको छ ।

बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले प्रधानमन्त्री प्रचण्डलाई भूकम्पबाट प्रभावित प्रतिनिधिमुलक ठाउँहरु देखाउने तयारी गरिएको जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू