Ads

विपन्न समुदायमा सामाजिक रुपान्तरणको आवश्यकता छ : अध्यक्ष नेपाल


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा आर्थिक विकास गरी विपन्न समुदायको सामाजिक रुपान्तरण गर्नुपर्ने खाँचो औल्याएका छन्  । पार्टीद्वारा सञ्चालित समाजवाद जागरण अभियान अन्तर्गत आज अमलेखगञ्जमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले जनताको लामो समयदेखिको सङ्घर्षबाट राजनीतिक उपलब्धि प्राप्त भएको भए पनि उनीहरुको आर्थिक विकास तथा सामाजिक सुरक्षा हुन नसकेको बताएको  सो पार्टीको सचिवालयले जनाएको छ ।

उनले देश विकास र जनताको आर्थिक समृद्धिको सङ्कल्प पूरा गर्न आफ्नो पार्टी क्रियाशील रहेको जनाउँदै मुलुक रुपान्तरणका लागि सबै जाति समुदायका समस्या समाधान गर्न समाजवादी व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।सभामा पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले रोजगारी, सुशासन र समृद्धिको नारासहित सुरु भएको अभियानको औचित्यबारे स्पष्ट पारेका छन् । उनले धार्मिक सहिष्णुता कायम गर्न सबै जाति समुदायको एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठले देशमा गाउँसम्म वैज्ञानिक समाजवादको जागरण फैलाउनुपर्ने बताए  । अभियान अन्तर्गत कांकडभिट्टा, विर्तामोड, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, भारदह, राजविराजमा, छिन्नमस्त, अर्नाह, भगवानपुर, सिरहा सदरमुकाम, बन्दीपुर र जदुकुहा, जलेश्वर, ढल्केबर, बर्दीबास, लालबन्दी, गरुडा, हर्नैया, कलैया र वीरगञ्जमा सभा गरिएको थियो । पार्टीका शीर्षनेताहरुले सम्बोधन गर्नुभएको अभियानमा कार्यकर्ता भेला, पत्रकार सम्मेलन र अन्तरक्रियासमेत गरिएको थियो । अभियान यही असोज २९ गते सुर्खेतमा सम्पन्न हुने छ ।

Ads

सम्बन्धित पोष्टहरू