काठमाडाैँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका कतिपय स्थानमा भइरहेका क्रियाकलापका सन्दर्भमा सबैलाई जिम्मेवार बन्न, धैर्यधारण गर्न र संयमता अपनाउन अनुरोध गरेकी छिन्।
सामाजिक एकता र सद्भाव कायम गर्ने सम्बन्धमा दिएको सार्वजनिक सन्देशमा उनले नेपाली समाजमा सदियौँदेखि कायम रहेको धार्मिक, सांस्कृतिक एवं अन्तरसामुदायिक सद्भाव र सहिष्णुतामा गम्भीर प्रश्न उत्पन्न हुने गरी भएका घटनाप्रति ध्यानाकर्षण गराएकी छिन्।
पूर्वराष्ट्रपति भण्डारीले भनेकी छन्, ‘समाजमा शान्ति खल्बलिने तथा प्रचलित कानुनको पालनामा प्रतिकूल असर पर्ने गरी नेपाली जनतालाई नै एकअर्काविरुद्ध उभ्याउने गतिविधिमाथि मलजल गर्न मिथ्या सूचना र झुटा समाचारको समेत उपयोग भइरहेकोतर्फ समेत म सबैको ध्यान आकृष्ट गर्न चाहन्छु।’
नेपाली समाजको धार्मिक, सांस्कृतिक, भाषिक तथा जातीय विविधतालाई हामीले देशको सौन्दर्य र सम्पदाका रूपमा आत्मसात् गर्दै आएको बताउँदै उहाँले विविधताबीचको एकता, आपसी सद्भाव एवं सहिष्णुता नै हाम्रो राष्ट्रिय शक्ति भएको उल्लेख गरेकी छिन्।
संविधानले सबै नेपाली जनतालाई सम्मान र समानताको अधिकार प्रदान गरेको हामी सबैमा विदितै रहेको उल्लेख गर्दै उनले सबै नागरिकलाई आ–आफ्नो धर्म, संस्कृति र परम्पराको निर्वाध पालनाका लागि हाम्रो संविधान, कानुन र राजनीतिक संरचनाले पर्याप्त स्थान दिएको बताएकी छिन्।
इतिहासको अवशेषका रूपमा समाजमा अझसम्म कायम रहेका कतिपय कुरीति, तुस र असन्तोषलाई आपसी संवाद, अन्तक्र्रिया र कानुनी उपचारका माध्यमबाट मेटाउँदै जानुपर्नेमा जोड दिँदै उनले हामीले आपसी विश्वास र सहिष्णुताको वातावरणलाई नयाँ उचाइमा पु¥याउन आवश्यक रहेको बताएकी छिन्।
प्रतिक्रिया दिनुहोस्