Ads

बुद्धसिंहमार्गको १० किलोमिटर कालोपत्रे हुँदै


दमौली\ पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंहमार्गको १० किलोमिटर खण्डमा कालोपत्रका लागि प्रारम्भिक चरणको काम सुरु भएको छ । तनहुँको दमौलीबाट चितवनको घुमाउनेसम्म जोड्ने सो मार्गअन्तर्गत दमौलीबाट कालोपत्रका लागि निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालनी गरेको हो ।

दमौलीबाट सुडेसम्मको उक्त खण्ड कालोपत्रका लागि निर्माण सम्झौता भएको एक वर्षपछि निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार उक्त खण्ड ‘आक्सफाल्ट प्रविधि’बाट सडक कालोपत्र गरिनेछ ।

पूर्वाधार विकास कार्यालयले मैनाचुली÷सफल जेभी काठमाडौँसँग विसं २०७९ भदौ २७ गते सडक कालोपत्रका लागि सम्झौता गरेको थियो । मूल्य अभिवृद्धि करसहित रु ३४ करोड २७ लाख ५४ हजार पाँच सय ६० मा सम्झौता गरिएको उक्त खण्डको कालोपत्र विसं २०८२ जेठ ३० गतेसम्म सम्पन्न गर्नुपर्ने म्याद रहेको छ । सम्झौताअनुसार पर्खाल निर्माण, कटिङ, कल्भर्ट, कजवे निर्माण गरिनेछ ।

गण्डकी प्रदेश सरकारले यस मार्गलाई प्राथमिकतामा राखेको छ । प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले सो खण्डको अनुगमन गर्दै कामलाई तीव्रता दिन निर्देशन दिएका छन् । सो अवसरमा मन्त्रालयका सचिव शङ्करप्रसाद पण्डित, पूर्वाधार विकास निर्देशनालयका प्रमुख लक्ष्मीप्रसाद भण्डारीसहितको टोलीले हालसम्मको कामका बारेमा जानकारी लिएको थियो ।

सो मार्गलाई पृथ्वीराजमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्न लागिएको छ । पृथ्वीराजमार्गअन्तर्गत डुम्रे–आँबुखैरेनी हुँदै घुमाउने पुग्न भन्दा बुद्धसिंमार्गबाट जाँदा २५ किलोमिटर दूरी कम पर्ने जनाइएको छ ।

गण्डकी प्रदेश सरकारले सो मार्गलाई प्राथमिकतामा राखेर यस वर्षका लागि रु पाँच करोड बजेट विनियोजन गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू