काठमाडौं । इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीलाई उद्धार र सहजीकरणका लागि परराष्ट्र मन्त्रालले सम्पर्क व्यक्ति तोकेको छ ।
शनिबारदेखि सुरु आक्रमणमा रोजगार र अध्ययनका लागि इजरायल पुगेका केही नेपाली समेत परेपछि परराष्ट्र मन्त्रालयले आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि प्रवक्ता सेवा लम्सालसहित ६ जनाको सम्पर्क नम्बरसहित सम्पर्क व्यक्ति तोकेको हो । सम्पर्क व्यक्तिमा परराष्ट्र मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्साल, सहसचिव शरदराज आरण, उपसचिव दुरपदा सापकोटा र शाखा अधिकृत कृष्ण सिलवाललाई सम्पर्क व्यक्ति तोकेको छ ।
यस्तै इजरायलस्थित तल अबिवमा रहेको नेपाली राजदूतावासमा रहेका राजदूत कान्ता रिजाल र प्रथम सचिव अर्जुन घिमिरेलाई पनि सम्पर्क व्यक्ति तोकेको छ ।
१० जना नेपालीको मृत्यु
प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तीमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् ।
५० वर्षअघि योम किपर युद्ध सुरु भएको दिन (६ अक्टोबर) को भोलिपल्ट शनिबार हमासले इजरायलमाथि ठूलो आक्रमण गरेको थियो । इजरायली अधिकारीहरुका अनुसार यो आक्रमणमा परी मारिनेको संख्या ६०० नाघेको छ । सयौं मानिस घाइते भएका छन् ।
आक्रमणमा नेपालीहरु पनि परेका थिए । उनीहरुमध्ये १० जनाको मृत्यु भएको पुष्टि इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले गरिन् । राजदूत रिजालले बताएअनुसार मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवन–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् ।
यस्तै पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ ।सारदा–२ सल्यानका विधान सेजुवाल, दंगीशरण–३ दाङका प्रवीण डाँगी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुवैको खुट्टामा गम्भीर चोट लागेको छ ।
गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेलको पनि स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने टीकापुर–९ कैलालीका धनबहादुर चौधरी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । त्रिवेणी–१ सल्यानका प्रमोद केसी फार्म हाउस मामिकको घरमा सुरक्षित छन् भने भजनी त्रिशक्ति–४ कैलालीका वीरेन्द्र चौधरी इजरायलको सुरक्षा पोष्टमा सुरक्षित अवस्थामा छन् ।
परराष्ट्रमन्त्री एनपी साउदले संसदलाई दिएको जानकारीअनुसार इजरायलमा ४ हजार ५०० नेपाली केयर गिभरका रूपमा कार्यरत छन् । २६५ जना विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गएका थिए । जसमा कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए ।
कति छन् नेपाली ?
उनीहरुमध्ये १७ जना गाजा क्षेत्र नजिक दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने क्षेत्रमा भएको आक्रमणमा परेको भन्दै परराष्ट्र मन्त्री साउदले भनेका थिए, ‘१२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुनसक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको बैठकले परराष्ट्रमन्त्री साउदको संयोजकत्वमा समन्वय संयन्त्र गठन भएको छ । समन्वय संयन्त्रले नेपालीहरूको अवस्था पहिचान गर्ने र उद्धार सम्बन्धी निर्णय गर्ने लगायतका सम्पूर्ण कायहरु गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्