ओखलढुङ्गा, करिब छ करोड लगानीमा सुरु गरिएको सोलुखुम्बुको पत्तालेमा व्यावसायिक स्याउ उत्पादन सुरु भएको छ । कोशी प्रदेशका पूर्वमन्त्री अम्बिरबाबु गुरुङलगायत डिल्ली गुरुङ, कृष्ण केसी र यगेन्द्रबहादुर कार्कीको करिब ६ करोड लगानीमा सुरु गर्नुभएको स्याउ फार्मबाट उत्पादन सुरु भएको हो ।
सोलुदुधकुण्ड नगरपालिका–८ पत्तालेमा एभरेष्ट एग्रो रिसर्च एण्ड टुरिजम डेभलपमेन्ट प्रालिमार्फत १६५ रोपनी क्षेत्रफलमा तीन वर्षअघि स्याउ खेती सुरु गरिएको थियो । यस वर्ष करिब २५ सय टन स्याउ उत्पादन भएको उद्यमीहरूको भनाइ छ ।
कम्पनीको नाममा रहेको ३६ रोपनी र १२९ रोपनी जग्गा भाडामा लिएर १९ हजार पाँचसय बोट स्याउ रोपिएको छ । इटालीबाट ल्याइएका फुजी, गाला, किंस रोड, रेड डेलिसस जातका स्याउको खेती गरिएको छ ।
यस वर्ष ३५ प्रतिशत बिरुवामा मात्र स्याउ फलाइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई ओखलढुङ्गामार्फत यस फार्मलाई बिरुवामा ५० प्रतिशत अनुदान उपलब्ध गराएको छ ।
प्रतिक्रिया दिनुहोस्