काठमाडौ \ इजरायलमा रहेका २०० भन्दा बढी नेपालीले घर फर्किन नाम टिपाएका छन् । हमास समूहले शनिबार गरेको आक्रमणमा १० नेपालीको मृत्यु भएको छ ।
अहिले पनि केही सम्पर्कविहीन छन् भने कतिपय सुरक्षित स्थानको खोजीमा छन् । उनीहरुमध्ये ३२ जनालाई त्यहाँको सेनाले बंकरबाट उद्धार गरेर सुरक्षित स्थानमा लगेको छ ।
तेल अबिबस्थित नेपाली दूताबासले स्वदेश फर्किन चाहने नेपालीहरुको विवरण संकलन गर्न अनलाइन रजिस्ट्रेसन समेत सुरु गरेको छ ।
२४ जना नेपाली कामदार रोकिए
स्याहार केन्द्रमा सहायक कामदारको रुपमा इजरायल जान लागेका २४ जना नेपाली कामदार रोकिएका छन् । श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको छनोट भएर उडान तालिका रहेका २४ कामदारहरु रोकिएको वैदेशिक रोजगार व्यवस्थापन शाखाले जनाएको छ ।
भिसा प्राप्त गरिसकेका २४ जना सहायक कामदारहरूको उडान तालिका २४ असोज, १ बजे तय भएकोमा रद्द भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
‘इजरायलको हालको संकटपूर्ण अवस्थामा उडान तालिका बमोजिम उडान प्रतिक्षामा रहेका कामदारहरूलाई इजरायलको यात्रा नगर्न एवम् इजरायको शान्ति सु–व्यवस्था सामान्य भएपश्चात वैदेशिक रोजगार सम्बन्धी थप कारवाही अगाडि बढाउने निर्णय भएको छ,’ मन्त्रालयका शाखा अधिकृत धनञ्जयकुमार शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
३२ जनाको उद्धार
इजरायलमा प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणका कारण अलपत्र परेका ३२ जना नेपालीलाई उद्धार गरी इजरायली सेनाले सुरक्षित स्थानमा लगेको छ । उद्धार गरिएका हरूलाई इजरायली सेनाले नेपाली दूतावास रहेको तेलअविव क्षेत्रमा लगेको छ । केहीलाई भने बेतकाम क्षेत्रमा राखेको छ ।
प्रतिक्रिया दिनुहोस्