Ads

‘पैसा कमाउन ठूलै व्यापार गर्नु पर्दैन’


सिन्धुली । “व्यापार गर्न ठूलो लगानी चाहिन्छ ? होइन, थोरै लगानीमा पनि सुरु गर्न सकिन्छ । पैसा कमाउन ठूलै व्यापार गर्नु पर्दैन । सानै व्यापारमा मनग्य आम्दानी गर्न सकिन्छ ।” सिन्धुलीको मुख्य सडक दायाँबायाँ, स्थानीय हाटबजार र सदरमुकाम सिन्धुलीमाढी बजार क्षेत्रमा फुटपाथ व्यापार गर्ने ढाटीमाया दर्जीले यस भनाइलाई चरितार्थ गरिदिएकी छन् ।

कमलामाई नगरपालिका–४ पोख्रेल गाउँकी उनले रु ३० लगानी गरेर व्यापार सुरु गरेकी हुन् । उक्त पैसाले ३० वर्षअघि प्रतिमुठा रु पाँचमा छ मुठा फापरको साग किनेर बेचेको उनलाई हिजोजस्तै लाग्छ । व्यापार सुरु गर्दासम्म उनका आँखा चम्किला, दाँत भरिला थिए । कपालको रङ कालो, शरीरको छाला भरिलो थियो । अहिले आँखा धमिलो हुँदै गएका छन् । दाँत झरेर सकिनै लागिसके । कपालको कालो रङ उडेर सेतै भएको छ । शरीरको छाला चाउरिँदै गयो । तर उनले व्यापार छाडेकी छैनन् ।

७९ वर्षीया दर्जी सानो लगानीमा स–साना व्यापार गरेरै जीवन र जीविका धान्दै आएकी छन् । रोगले थलिएका श्रीमान्को दरिलो आड र भरोसा उनलाई छ । घरायसी दैनिक खर्चदेखि चाडपर्व र औषधि, स्वास्थ्योपचार खर्चसम्म उहाँले जोहो गर्नुपर्छ । यसका लागि सरकारले ज्येष्ठ नागरिकलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ताले पनि सघाएको छ । सिन्धुलीमाढीमा शनिबार लाग्ने हाटबजारमा व्यापार गर्न आएकी दर्जी व्यापार गर्न छाड्दा खर्च धान्न मुस्किल पर्ने बउताछिन् ।

“तीस वर्ष पहिले रु ३० सापटी गरेर व्यापार सुरु गरेको थिएँ । आजको दिनसम्म यही व्यापारबाट आएको नाफाले घरव्यवहारको खर्च टार्न सहज भएको छ”, उनले भनिन् । शनिबारे हाटबजारमा दसैँ नजिकिएकाले खसी व्यापारीको भीड थियो । कपडा, भाडाँकुँडा, तरकारी व्यापारीलगायत ठूलो लगानीमा ठूलै व्यापार गर्ने व्यापारी थिए । सेवाग्राहीको उस्तै खचाखच । त्यही भीडमा निलो प्लाष्टिक बिच्छ्याएर अदुवा, लसुन, गुन्द्र्रुक, जिरे खुर्सानी भाग–भाग लगाएर उनी बेच्न बसेकी थिइन् ।

Ads

सम्बन्धित पोष्टहरू