काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग टेलिफोन वार्ता गरेका छन् । टेलिफोन वार्तामा आतंकवादी समूह हमासको आक्रमणमा १० जना नेपालीका साथै इजरायली एवं अन्य देशका निर्दोष नागरिक मारिएकामा गहिरो दुःख व्यक्त गरे ।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री साउदले नेपाल सरकार र जनताका तर्फबाट आफ्ना इजरायली समकक्षीप्रति सहानुभूति एवं ऐक्यबद्धता प्रकट गर्दै आतङ्कवादका हरेक रुपविरुद्ध नेपाल दृढताका साथ उभिएको बताए । साथै उनले सो आक्रमणको निन्दा समेत गरेका छन् ।
परराष्ट्रमन्त्री साउदले ज्यान गुमाएका नेपालीको शव नेपाल पठाउन आवश्यक समन्वय र सहजीकरण गर्न आग्रह गर्नुका साथै घाइते भएका चार जनाको उपचार तथा सम्पर्कविहीन भएका एक नेपालीको अवस्था पत्ता लगाइदिन विदेशमन्त्री कोहेनसमक्ष विशेष अनुरोध गरे ।
इजरायली सेनाले सुरक्षित स्थानमा स्थनानान्तरण गरेका नेपालीलाई आवास, भोजन एवं सुरक्षाको प्रबन्ध गर्न पनि उनको आग्रह थियो । प्रत्युत्तरमा इजरायलका विदेशमन्त्रीले नेपाल सरकार, नेपाली जनता र मृतकका परिवारप्रति गहिरो सहानुभूति प्रकट गर्दै आतङ्कवादीका कारण आफ्नो देश कठिन अवस्थामा रहेको जानकारी मन्त्री साउदलाई जनाएका थिए ।
नियमित प्रेस ब्रिफिङ गर्ने
सरकारले बुधबारदेखि इजरायलमा रहेका नेपालीको अवस्थाबारे जानकारी गराउन नियमित प्रेस ब्रिफिङ गर्ने भएको छ । हमासको आक्रमणपछि इजरायलयमा रहेका नेपालीको अवस्था, उद्धारको प्रक्रिया, शव नेपालमा ल्याउन चालिएको कदमसहितका विषयमा जानकारी गराउन परराष्ट्र मन्त्रालयले नियमित प्रेस ब्रिफिङ गर्न लागेको हो ।
प्रेस ब्रिफिङ अपराह्न साढे ४ बजे हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ३ सय बढीले अनलाइन रजिस्ट्रेसनमार्फत विवरण उपलब्ध गराएका छन् । उनीहरूमध्ये अधिकांशले नेपाल फर्किन चाहेको बताएका छन् भने बाँकीले सुरक्षित स्थानमा स्थानान्तरण हुन चाहेको बताएका छन् ।
असोज २० गते हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । यसैबीच इजरायलमा हमास समूहले गरेको आक्रमणमा परेर घाइते भएका ४ जना नेपालीको अवस्थामा सुधार आएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्