काठमाडौँ । चार्टर फ्लाइटका लागि रुट नपाइएपछि इजरायलबाट नेपालीको उद्धारमा ढिलाइ हुने भएको छ।
विद्रोही समूह हमासको आक्रमणपछि इजरायलमा रहेकाहरूले जतिसक्दो चाँडो उद्धार गरिदिन आग्रह गरिरहेका छन्। तर, जहाज तयारी अवस्थामा राखिए पनि हवाई रुट नपाइएका कारण जहाज पठाउन नसकिएको सरकारले जनाएको छ।
परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनलाई मंगलबार टेलिफोन गरेर इजरायलमा रहेका नेपालीलाई फर्काउन र मृतकको शव ल्याउने प्रक्रियामा सहजीकरण गरिदिन आग्रह गरेका छन्।
मन्त्री साउदले इजरायलका विदेश मन्त्रीसँग टेलिफोन कुराकानी गरेका गरेका थिए । कुराकानीको क्रममा समेत आफ्ना नागरिकहरूको उद्धारका लागि सहजीकरण गरिदिन अनुरोध गरेका थिए । जवाफमा विदेश मन्त्री एली कोहेनले १० जना नेपाली नागरिकको शव नेपाल फिर्ती, इजरायलमा रहेका नेपालीको सुरक्षा, घर फर्किन चाहने नेपालीलाई घर फर्काउने विषयमा इजरायलले उच्चतम सहयोग गर्ने आश्वासन दिएका थिए ।
युद्ध जारी रहेका कारणले इजरायलले हालसम्म उडान अनुमति दिन सकेको छैन । इजरायलमा उत्पन्न परिस्थितिका कारण समस्या भइरहेको जानकारी इजरायल सरकारले नेपाली दूतावासलाई जानकारी गराएको छ ।
नेपालीहरूको उद्धारको लागि इजरायलको डिफेन्स मन्त्रालय अन्तर्गत रहेको नेशनल डिफेन्स म्याकानिज्मले अनुमति दिनुपर्ने हुन्छ । तर, युद्ध जारी रहेका कारण अनुमति दिन सकेको छैन । जसले गर्दा शव ल्याउन र विद्यार्थीहरूको उद्धारमा ढिलाइ भएको हो ।
इजरायलको अवस्था अझै संवेदनशील रहेको भन्दै तत्काल उडान भर्न असहज हुने भन्दै अनुमति दिन सकेको छैन । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उद्धारका लागि नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्स विमान चार्टर्ड गर्ने निर्णय गरेको थियो । सोही आधारमा दुवै एयरलाइन्सका विमान तयारी अवस्थामा राखिएको तर, उडान अनुमति नपाउँदा ढिलाइ भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
गत शनिवार बिहान प्यालेस्टाइनस्थित हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० जना नेपाली मारिएका थिए भने अझै कञ्चनपुरका विपिन जोशी सम्पर्कविहीन छन् । त्यस्तै ४ जना घाइतेको उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्