काठमाडौँ, इजरायलमा हमासले गरेको आक्रमणका कारण त्यहाँबाट स्वदेश फर्कन चाहेका विद्यार्थी बिहीबार ल्याईदैछ। इजरायलका लागि नेपालका राजदूत कान्ता रिजालका अनुसार पहिलो चरणमा २५४ जना विद्यार्थी फर्काउन लागिएको हो। उनले स्वदेश फर्किन चाहनेको सङ्ख्या धेरै भएपछि पहिलो चरणमा विद्यार्थी मात्रै फर्काइने जनाएकी छन्। त्यसपछि क्रमशः श्रमिकलाई फर्काइने छ।
बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले परराष्ट्रमन्त्री साउदको नेतृत्वमा उद्धार टोली पठाउने निर्णय गरेको थियो। नेपालबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल गएका विद्यार्थी ल्याउने विशेष योजना हो। त्यसै कार्यक्रममा गएका १० जना विद्यार्थी भने हमासको आक्रमणमा परी दिवङ्गत भएका थिए। उनीहरूको शव भने उक्त विमानमा नल्याइने भएको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले इजरायलको ‘प्रोटोकल’ अनुसार तत्काल शव ल्याउन नमिलेको बताएकी छन् । सरकारले चाँडोभन्दा चाँडो शव ल्याउन पहल गरिरहेको भन्दै बाध्यता बुझिदिन परिवारजनसँग उनको आग्रह छ । हराइरहेका कञ्चनपुरका विपिन जोशीको खोजी कार्यलाई तीव्रता दिएको छ ।
इजरायलका लागि नेपालका राजदूत कान्ता रिजालले पनि मृतकको शव ल्याउन भने केही समय कुर्नुपर्ने अवस्था देखिएको बताईन् । उनले भनिन्, “मैले मृतकका शव तत्काल ल्याउन निकै प्रयास गरेकी थिएँ। इजरायलका अधिकारीहरूले सबै प्रोटोकल मिलाएर मात्रै हस्तान्तरण गर्ने बताउनुभयो । त्यसो भएकाले शव ल्याउन समय लाग्ने देखियो ।”
परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार इजरायल अहिले पनि युद्धकै अवस्थामा रहेकाले शव व्यवस्थापनका विषयमा उसले केही सोचेका छैनन् तर नेपालको तर्फबाट पहल भई रहेको छ ।
मन्त्री सहितको टोली ईजरायल तर्फ
युद्धग्रस्त इजरायलमा रहेका नेपाली विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज पठाइएको छ । जहाज आज बिहान ४ बजेर ४ मिनेटमा काठमाडौंबाट दुबई ट्रान्जिट हुँदै इजरायलका लागि उडेको हो ।
नेपाल एयरलाइन्सको उक्त जहाज नियमित उडान तालिकाअनुसार दुबईका लागि उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका अनुसार नेपाल एयरलाइन्सको जहाजले दुबईसम्म यात्रु लिएर गएको हो । दुबईबाट भने इजरायलका लागि चाटर्डका रुपमा जाने जनाइएको छ ।
इजरायलमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउद र परराष्ट्र मन्त्रालयका एक सहसचिवको टोली पनि जहाजमा गएको छ । नेपालबाट उडेको जहाज दुबई ट्रान्जिट भएर जाने भएकाले करिब ७ घण्टा समय लाग्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्