धरान\ सरकारका कारण वृत्ति विकास रोकिएको भन्दै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १४० जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।
७ वर्षदेखि बढुवा रोकिएको भन्दै आन्दोलनरत चिकित्सकहरूले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमै भेटेर सामूहिक राजीनामा पत्र बुझाएका हुन् ।
चिकित्सकहरूले स्वास्थ्य मन्त्री बस्नेतलाई भेटी प्रतिष्ठानको अवस्था र चिकित्सक शिक्षकको बढुवा रोकिएको गुनासो सहित मङ्गलवार ज्ञापन पत्र बुझाएका थिए । तर आफूहरूको मागप्रति मन्त्री बस्नेत गैर जिम्मेवार बनेपछि राजीनामा दिनुपरेको प्रतिष्ठानका सहप्राध्यापक डा. एसपी रिमालले जानकारी दिए ।
प्रतिष्ठानका पदाधिकारीबाट माग सुनवाइ हुन नसकेपछि सामूहिक बिदा लिएर मन्त्रीलाई ध्यानाकर्षण गराउन काठमाडौँ पुगेका १ सय ७७ जना चिकित्सकमध्ये १ सय ४० जनाले राजीनामा दिएको सहप्राध्यापक रिमालले बताए ।
उनीहरूले प्रतिष्ठानमा चिकित्सकको धेरै दरबन्दी खाली भएर पनि विगत सात वर्षदेखि बढुवा प्रक्रिया अवरुद्ध भएको र दुई वर्षयता मात्र ५० भन्दा बढी दक्ष चिकित्सकहरूले प्रतिष्ठान छाडेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्