Ads

स्थानीय तहमा मौलाउँदो भ्रष्टाचार


विराटनगर । कोशी प्रदेशमा भ्रष्टाचार र अनियमितताका घटनाका उजुरी सबैभन्दा बढी स्थानीय तहको रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीका कार्यालय प्रमुख सुरेश न्यौपानेले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष पेश गरेको ३३ औं प्रतिवेदनमा यस्तो विवरण उल्लेख गरिएको हो ।

‘गत आर्थिक वर्षमा उजुरी दिएका निवेदनहरुमध्ये सबैभन्दा बढी स्थानीय तहका रहेका छन्,’ न्यौपानेले भने । ०७९\८० मा सबैभन्दा बढी उजुरी सप्तरीबाट ६ सय, सुनसरीबाट ५०२, मोरङबाट ३८०, झापाबाट २१५, उदयपुरबाट १५७ रहेको छ । सबैभन्दा कम उजुरी भने तेह्रथुम जिल्लाबाट ४३ वटा परेको न्यौपानेको भनाइ छ ।

अख्तियारका अनुसार गतवर्ष झापा, मोरङ र सप्तरीका ५ वटा कार्यालयमा सेवाग्राहीबाट कर्मचारीले घुस लिइरहेको अवस्थामा पक्राउ गरी नियन्त्रणमा लिएर विशेष अदालतमा आरोपत्र दायर गरिएको छ । प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७९र८० मा आयोगमा २० हजार ९०५ वटा उजुरी परेको थियो । जसमध्ये १८ हजार ७९९ उजुरी फछ्र्यौट भएको आयोग इटहरी कार्यालयका प्रमुख न्यौपानले जानकारी दिए । यो ६६।९८ प्रतिशत हो । आयोगले आर्थिक वर्ष ०७९÷८० मा प्रारम्भिक छानविनतर्फ जम्मा २४०७ उजुरी रहेकोमा सोमध्ये १६६४ फछ्र्यौट भई ६९।१३ प्रतिशत प्रगति हासिल भएको न्यौपानेले जनाए ।

जसमध्ये १५५ वटा उजुरीमा विस्तृत अनुसन्धान अधिकृत तोकिएको, ८७३ वटा उजुरी तामेलीमा राखिएको, १४ वटा उजुरीमाथि सुझाव दिइएको र ६२२ वटा उजुरी उपर कानून बमोजिम अन्य आवश्यक कारवाहीको लागि विभिन्न निकायमा लेखी पठाइएको जनाएको छ । गत आर्थिक वर्षमा फछ्र्यौट हुन बाँकी रहेका ७४३ उजुरीहरु चालू आर्थिक वर्षका लागि जिम्मेवारी सरेर आएको आयोगले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको कार्यक्षेत्र भित्र ताप्लेजुङ, पाँचथर, भोजपुर र संखुवासभाका प्रमुख जिल्ला अधिकारीलाई आयोगले अधिकार प्रत्यायोजन गरेको छ । आयोगको कार्यक्षेत्र भने कोशी प्रदेशका खोटाङ, सोलुखुम्बु र ओखलढुंगा बाहेकका ११ जिल्ला र मधेश प्रदेशको सप्तरी जिल्ला रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू