Ads

बुहारीहरुलाई निशुल्क शिक्षा


दमक/ इलामको चुलाचुली गाउँपालिकाले पालिका भित्र रहेका बुहारीहरुलाई निशुल्क पढाउन थालेको छ । गएका वर्षदेखि बुहारी शिक्षा कार्यक्रम नै सञ्चालन गरेर सो गाउँपालिकाले बाहिरबाट विवाह गरेर आएका बुहारीलाई निशुल्क उच्च शिक्षा दिन थालेको हो ।
शिक्षाको पहुँचमा पुग्न कमजोर आर्थिक अवस्था भएका घरका बुहारीलाई गाउँपालिकालेनै खर्च ब्यहोरेर पढाउन थालेको गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले जानकारी दिए । विवाह गरेर श्रीमानको घर आएका महिलालाई आर्थिक अवस्थाका कारण थप शिक्षा लिनबाट वञ्चित हुन नपरोस् भनेर गाउँपालिकाले यो कार्यक्रम सञ्चालन गरेको अध्यक्ष केरुङको भनाई छ ।
गाउँपालिकाले शिक्षालाई उच्च प्राथमिकता दिएर काम गरिरहेको भन्दै अध्यक्ष केरुङले बिद्यालयलाई निशुल्क बस वितरण, बिद्यालयमा पढ्दै कमाउँदै जस्ता शिक्षाको बिकासका अवधारणाहरु ल्याएर शिक्षालाई अघि बढाइरहेको बताए ।
गाउँपालिकाको सहयोगकै कारण एस एल सी उत्तीर्ण गरेको १८ बर्ष पछि पढ्न पाउँदा खुशी लागेको वडा नम्बर २ बाह्रगोठेमा रहेको जनता माध्यमिक बिद्यालयमा अध्ययनरत कमला भट्टराई ढुंगानाले बताइन । पढ्ने रहर हुँदा हुँदै विवाह भएर आउनु परेको र आर्थिक अवस्थाका कारण पढ्ने रहर पुरा नभइरहेका बेला गाउँपालिकाको बुहारी शिक्षा कार्यक्रमबाट आफ्नो पढने इच्छा पुरा भएको उनले सुनाइन । पढ्ने रहर पुरा नभएका बुहारीहरुको पढाईको जिम्मा अब गाउँपालिकाले लिने गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामप्रसाद मिश्रले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू