काठमाडाैँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको कालापानी क्षेत्र भ्रमण गरेकोबारे रास्वपा सभापति रवि लामिछानेले संसद्मा सरकारको जवाफ माग गरेका छन् ।
बिहीवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले मोदीको भ्रमणबारे सदनमा सरकारको जवाफ माग गरेका हुन् ।
‘छिमेकी राष्ट्रका प्रधानमन्त्री नरेन्द्र मोदी हाम्रो भूभागमा आउनुभएको रहेछ, न सरकारले सदनलाई जानकारी गराएको छ, न त स्वागत गरेको छ,’ लामिछानेले भने, ‘आफ्नो देशमा छिमेकी देशका (सरकार प्रमुखको) भ्रमणबारे नेपाली जनता र सदनलाई सरकारले जानकारी गराउनुपर्दैन ?’
नेपालले जारी गरेको चुच्चे नक्साभित्र पर्ने कुटी र गुञ्जीमा मोदीले भ्रमण गरेको आफूहरूले मिडियाबाट थाहा पाएको रबिले बताए ।
‘प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क गर्दा हामी त्यहाँ जान पाएनौं भन्ने कुरा आयो । मोदीले भ्रमण गरेको ठाउँ नेपालको नक्साको भू–भागमा पर्दछ,’ रविले भने ।
छिमेकी देशको प्रधानमन्त्री नेपाली भूमिमा आउँदा सरकार बेखबर बसेको भन्दै उनले आपत्ति जनाए ।
मोदी बिहीवार लिम्पियाधुरास्थित गुञ्जी पुगेका छन् । साथै उनले त्यहाँबाट केही पर रहेको पार्वतीकुण्ड र आदिकैलाशको दर्शन पनि गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्