Ads

आज देखि संघीय संसद्को बर्खे अधिवेशन अन्त्य गर्ने तयारी


काठमाडौ\ सत्ता गठवन्धनले आज देखि संघीय संसद्को बर्खे अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । गठवन्धनको बिहीबार बालुवाटारमा बसेको बैठकले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी बर्खे अधिवेशन अन्त्य गर्ने निष्कर्ष निकालेको हो । संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गर्नुपर्छ । गठबन्धनमा भएको समझदारीअनुसार मन्त्रिपरिषद् बैठकले शुक्रबार अधिवेशन अन्त्यको निर्णय गर्नेछ ।

जसपाका प्रमुख सचेतक प्रदीप यादवले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी बर्खे अधिवेशन अन्त्य गर्ने समझदारी गठबन्धनमा भएको बताए । यस्तै माओवादी सांसद माधव सापकोटाले पनि अधिवेशनको अन्त्यको तयारी भइरहेको जनाएका छन् । शुक्रबार सदनको अन्तिम बैठक बस्दैछ । यसैगरि कांग्रेस सांसद रामहरि खतिवडाले पनि शुक्रबार अधिवेशन अन्त्य हुने बताए ।

प्रमुख प्रतिपक्षी एमालेका प्रमुख सचेतक पदम गिरीले पनि सत्तागठबन्धनका नेताहरूबाट शुक्रबार अधिवेशन अन्त्य गर्ने जानकारी आफूहरूलाई आएको बताए । यद्यपि, निर्णय गर्ने अधिकार सरकारसँग भएको उनको भनाइ छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले शुक्रबारको प्रतिनिधिसभा बैठकको कार्यसूची विद्युत् विधेयकलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाउने रहेको बताएका छन् ।

सांसदहरूका अनुसार प्रतिनिधिसभाबाट शुक्रबार सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गर्ने तयारी छ । विधेयकमाथि पाँच महिनासम्म दफावार छलफल गरेर कानुन समितिले बिहीबार संशोधनसहितको प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेको थियो ।

शुक्रबार विधेयकमाथि छलफल गरेर पारित भएमा हिउँदे अधिवेशनमा संसद्ले बनाएको कानुनको संख्या दुई पुग्नेछ । यसअघि संसद्ले मिटरब्याजसम्बन्धी कानुन बनाएको थियो । तर, सत्तापक्षकै केही सांसद भने सम्पत्ति शुद्धीकरण विधेयकमा थप छलफलको आवश्यकता भएकाले शुक्रबार नै पारित हुने सम्भावना नरहेको बताउँछन् ।

गठबन्धनमा भएको सहमतिअनुसार शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्ने र दसैँपछि १२ कात्तिकमा अर्को अधिवेशन आह्वान गर्ने निष्कर्ष छ । इजरायल आक्रमणपछि नेपाल भ्रमण स्थगित गरेका राष्ट्रसंघका महासचिव एन्टिनियो गुर्टेरेस १२ कात्तिकमा काठमाडौं आउने गरी भ्रमणको तयारी थालिएकाले १२ कात्तिकमा विशेष अधिवेशन वा हिउँदे अधिवेशन आह्वान गर्ने समझदारी बनेको गठबन्धनका एक नेताले बताए ।

Ads

सम्बन्धित पोष्टहरू