Ads

एमाले मधेश अधिवेशन: पदाधिकारीमा सहमति जुट्यो, अध्यक्षमा मण्डल


काठमाडाैँ । नेकपा (एमाले) मधेस प्रदेशमा पदाधिकारी सर्वसम्मत चुनिएका छन्।

अध्यक्षमा सिराहाका चन्देश्वर मण्डल सर्वसम्मत भएको केन्द्रीय सदस्य सरोज यादवले जानकारी दिए।

मण्डललाई पोलिट्ब्युरो सदस्य लीलानाथ श्रेष्ठले अघि सारेका थिए।

उपाध्यक्षमा पर्साका विचारी यादव छानिएका छन्। उनी संविधान सभा सदस्य हुन्। उनी पहिला माधवकुमार नेपाल समूहमा थिए। उनलाई पार्टी सचिव तथा कोशी इञ्चार्ज रघुवीर महासेठले अघि सारेको बताएको छ।

सचिवमा बाराका मनोज पौडेल सर्वसम्मत भएका छन्। उनी एमाले पोलिटब्युरो सदस्य पुरूषोत्तम पौडेलनिकट रहेको एक नेताले बताए।

उपसचिवमा रौतहटकी आरती भण्डारी र धनुषाका मोहम्मद कैस सर्वसम्मत भएका छन्। भण्डारी यसअघि पनि उपसचिव नै थिइन्।

‘सबैलाई समेटेर लैजान पदाधिकारीमा सर्वसम्मत गर्‍यौं। केहीबेरमा निर्वाचन प्रक्रिया सुरू हुन्छ। पदाधिकारीमा उहाँहरूले मात्रै मनोनयन दर्ता गर्नुहुन्छ,’ केन्द्रीय सदस्य तथा एमाले मधेस प्रदेश संसदीय दलका नेता यादवले भने।

एमाले मधेस प्रदेश अधिवेशनले २ सय ३५ सदस्यीय पदाधिकारी चयन गर्ने छ। आज बेलुकासम्म सदस्यहरूको टुंगो लाग्ने अध्यक्ष मण्डलले जानकारी दिएको छ।

मधेस प्रदेश अधिवेशन बुधबारबाट जनकपुरमा सुरू भएको हो।

यसअघि उपत्यका विशेष प्रदेश र सुदूरपश्चिममा एमालेले सर्वसम्मत रूपमा पदाधिकारी चयन गरेको थियो भने लुम्बिनी, कर्णाली, बागमती, गण्डकी र कोशीमा चुनावबाट नेतृत्व छानिएको थियो।

Ads

सम्बन्धित पोष्टहरू