Ads

कोशी प्रदेश : मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरुको आज सनाखत गरिने


विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरुको सनाखत गरिने भएको छ । मुख्यमन्त्रीको दाबी पेश गरेका नेपाली कांग्रेसका सांसद केदार कार्कीसहित कांग्रेसका ८ र नेकपा एमालेका ३९ गरी ४७ जना सांसदहरुले प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएर मुख्यमन्त्रीमा नियुक्तिका लागि आग्रह गरेपछि प्रदेश सांसदहरुको सनाखत गरिने भएको हो ।

मुख्यमन्त्रीका लागि ४७/४७ सांसदको समर्थन रहेको भन्दै कार्की र गठबन्धनका तर्फबाट इन्द्र आङ्बोले दाबी पेस गरेपछि आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म प्रदेश प्रमुखले सनाखत गर्न लागेका हुन् । सनाखतका लागि दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्यहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचयपत्रसाथ प्रदेश प्रमुखको कार्यालयको सभाहलमा शनिबार बोलाइएको छ ।

कोशी प्रदेशमा मुख्यमन्त्रीका लागि एमालेको समर्थनमा नेपाली कांग्रेसका केदार कार्की र चार दलीय गठबन्धनका तर्फबाट इन्द्र आङ्बोले दाबी पेश गरेपछि विवाद आएको हो । प्रदेश सांसदहरुको सनाखत गर्ने सहमति भएको र आफूहरु यसका लागि पनि तयार रहेको नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी र नेपाली कांग्रेसका प्रदेश सांसद शमसेर राईले जानकारी दिए ।

प्रदेश प्रमुख परशुराम खापुङले असोज २० गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार बहुमत सांसदहरुसहित दाबी पेश गर्न असोज २६ गते बेलुका ५ बजे सम्मको समय तोकेका थिए । तोकिएको समयमा पनि मुख्यमन्त्री नियुक्ति नगरेपछि कार्की पक्षका प्रदेश सांसदहरुले प्रदेश प्रमुखको कार्यालयमा सशरीर धर्ना दिएका हुन् ।

Ads

सम्बन्धित पोष्टहरू