Ads

विद्रोहबाट नियुक्त कार्कीको आज सपथ, संसदीय दलका नेताको राजिनामा


बिराटनगर \ कांग्रेसबाट विद्रोह गरेर कोशी प्रदेशकाको मुख्यमन्त्रीमा नियुक्त केदार कार्कीले आज आइतबार पद तथा गोपनियताको शपथ लिँदै छन् । उनले सानो आकारको तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेर शपथ लिन लागेका हुन् । प्रदेश प्रमुख पर्शुराम खापुङले कांग्रेसबाट विद्रोह गरेर एमालेको समर्थनमा शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई पद तथा गोपनियताको शपथका लागि आज दिउँसो २ बजेको समय तोकेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

नवनियुक्त मुख्यमन्त्री कार्कीले कांग्रेसबाट विद्रोह गरेर आफूलाई समर्थन गरेकामध्ये एक जना र एमालेबाट एक गरी दुई जना प्रदेश सांसदलाई मन्त्री बनाएर शपथ ग्रहण गर्ने तयारी गरेको स्रोतले जनाएको छ । कांग्रेसका विद्रोही सांसदमध्ये इलामका शम्शेर राई र एमालेबाट दलका उपनेता इलामकै रामबहादुर मगर मन्त्री बन्ने सम्भावना रहेको छ । तर इलामबाट नै दुवैजना मन्त्री हुने अवस्थामा नवनियुक्त मुख्यमन्त्रीले आफ्नो अनुकूल निर्णय लिने सम्भावना समेत रहेको स्रोतले जनाएको छ ।

कांग्रेसबाट विद्रोह गरेका ८ र एमलेका ३९ सहित ४७ प्रदेश सांसदको सनाखत गराएर प्रदेश प्रमुख खापुङले कार्कीलाई शनिबार मुख्यमन्त्री नियुक्त गरेका हुन्।

नेता थापाको राजिनामा
संसदीय दलमा विद्रोह गरेर कार्की मुख्यमन्त्रीमा नियुक्त भए पछि नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन् । उनी पार्टीका प्रदेश सभापति समेत हुन् । पदबाट राजीनामा दिँदै उनले आफूले नैतिकताका आधारमा पदबाट राजीनामा दिएको बताएका छन् ।

पार्टी र प्रदेशसभा संसदीय दलको निर्णय विपरीत पार्टीले विद्रोह गरेर उम्मेदवार बनेका सांसद केदार कार्कीलाई मुख्यमन्त्री मान्न तयार भएपछि थापाले आफूले नैतिकताका हिसाबले पदबाट राजीनामा दिएका हुन् । थापा आफैं मुख्यमन्त्रीको दाबेदार थिए । मुख्यमन्त्रीका लागि दुई पटकसम्म विश्वासको मत लिन प्रयास गर्दा पनि नपाएका थापाले यसअघि भने संसदीय दलको नेता समेत छोड्न तयार भएका थिएनन् ।

Ads

सम्बन्धित पोष्टहरू