Ads

७४ अर्ब ६७ करोड रुपैयाँबराबरको आर्थिक क्षति


काठमाडौ\  मुलुकका ७७ जिल्लाका १५ लाख १९ हजार ७७९ पशुमा लम्पी स्किनको सङ्क्रमणकै कारण किसानले ७४ अर्ब ६७ करोड रुपियाँबराबरको आर्थिक क्षति बेहोरेका छन् । पशु चिकित्सा परिषद्को अध्ययन अनुुसार एउटा स्वस्थ पशुमा लम्पीको सङ्क्रमण भएमा ४९ हजार १३५ रुपियाँको आर्थिक क्षति हुन्छ।

सरकारको पछिल्लो तथ्याङ्कका आधारमा पशु धनको क्षेत्रमा इतिहासकै सबैभन्दा ठुलो क्षति किसानले बेहोरोका छन् । यसका तत्कालीन र दीर्घकालीन असर रहे पनि तत्कालका लागि कुल गार्हस्थ उत्पादनमा भने खासै फरक नपार्ने देखिएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका तथ्याङ्क अधिकृत नन्दलाल सापकोटाले पशुमा लम्पीको सङ्क्रमणकै कारणले दुध उत्पादन, जैविक मल उत्पादन, पशुलाई खनजोत र ढुवानीमा प्रयोग गर्ने अवस्था मात्रै कुल गार्हस्थ उत्पादनसँग जोडिने भएकाले यसले तत्कालै ठुलो असर नपार्ने बताएका छन ।
उनलेअहिले उत्पादनमा आउने असर मात्रै देखिए पनि मरेका पशुको सट्टामा नयाँ पशु खरिद गर्न, उपचार, पोषणमा लाग्ने खर्चले कुल आयमा भने असर पार्ने स्पष्ट पारे । कुल गार्हस्थ उत्पादनमा कृषि र पशुको २३ प्रतिशत योगदान रहेको र त्यसमा पशु मात्रैको योगदान छ प्रतिशत रहेको सन्दर्भमा पशुको क्षेत्रबाट भएको आर्थिक क्षतिले गरिब किसानलाई झन् गरिब बनाउने उनको भनाई छ । यद्यपि यो वर्षकै गार्हस्थ उत्पादनमा खासै अन्तर नहुने बताईएको छ ।

 

खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले पनि पशु चिकित्सा परिषद्ले आँकलन गरेको क्षतिको विवरणका आधारमा सो क्षेत्रमा काम गर्ने हिसाबले योजना बनाइरहेको डा. सुरेश कार्कीले बताए ।

एसियाली विकास बैङ्कले पनि यो वर्ष तराई र मधेशमा राम्रोसँग वर्षा हुन नसक्नु र लम्पी स्किनले पशु धनमा क्षति पारेकाले चालु आर्थिक वर्ष २०८०र८१ मा अनुमान गरे अनुसारको आर्थिक वृद्धिदर नहुने प्रक्षेपण गरेको छ । लम्पी स्किनको कारणले एक खर्ब २८ अर्ब रुपियाँको क्षति हुने अनुमान गरिएकोमा ७४ अर्ब रुपियाँ बराबरको क्षति भइसकेको छ ।

लम्पी स्किनको जोखिम भने अझै पनि कायमै रहेको पशु प्राविधिक उद्धवप्रसाद सापकोटाले उल्लेख गरे । नेपालमा अझै पनि ७३ हजार ६३६ पशुमा लम्पीका जीवाणु सक्रिय छन् । लम्पीको कारणले हालसम्म ५२ हजार ५४८ पशु मरेका छन् । आर्थिक वर्ष २०७७÷७८ मा आठ जिल्लाका ११ पालिकामा फैलिँदा यसको क्षति दर धेरै थिएन । त्यसरी नै आर्थिक वर्ष २०७८÷७९ मा नौ जिल्लाका ११ पालिकामा देखियो । त्यस्तै गरी आर्थिक वर्ष २०७९८० सकिँदा ७७ जिल्लाका ५४२ पालिकामा यो सङ्क्रमण फैलिएकोमा मनाङ र मुस्ताङमा नियन्त्रणमा आइसकेको छ ।

Ads

सम्बन्धित पोष्टहरू