Ads

जनताको स्वास्थ्यलाई ध्यान दिएर काम गरेका छौँः मन्त्री बस्नेत


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनताको आधारभूत स्वास्थ्य सुविधालाई विशिष्ट ढङ्गले अघि बढाउने गरी काम भइरहेको बताएका छन् ।

बागमती प्रदेशमा आर्थिक वर्ष २०७९र८० मा भएका स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा गोष्ठीको आज उद्घाटन गर्दै उनले जनताको आधारभूत स्वास्थ्यलाई ध्यानमा राखेर सरकारले काम गरेको बताए । “संविधानमा शिक्षा र स्वास्थ्यलाई मौलिक हकका रुपमा व्यवस्था गरिएको छ”, मन्त्री बस्नेतले भने, “संविधान र कानुनमा भनिएजस्तो व्यवहारमा गर्न सकिएको छैन, तर निरन्तर प्रयास जारी छ ।”

आफू स्वास्थ्य मन्त्रालयमा आएपछि सुशासन र पारदर्शी तरिकाले काम गर्नका लागि प्रत्यन्त गरेको भन्दै उनले सुविधिसम्पन्न ठाउँ दरबन्दी थुपारेर बस्ने परिपाटीको अन्त्य गरेको बताए । “पहुँचका आधारमा दरबन्दी सुगममा मात्र थुपारेर बस्ने परिपाटीको अन्त्य भएको छ, अहिले डाक्टर बाहिर गएर काम गरिरहेका छन्”, मन्त्री बस्नेतले भने, “म राज्यमन्त्री भएर २२ वर्षसम्म अघि आउँदा देखेको व्यवस्था अहिले अन्त्य भयो, त्यसमा सबैले सहयोग गरे ।”

अहिले आधारभूत स्वास्थ्यका लागि २९ हजार नर्स हुनुपर्नेमा एक चौथाइ मात्रै भएको र डाक्टर तीनदेखि पाँच हजार आवश्यक रहेकोमा एक हजार मात्र रहेकाले दरबन्दी बढाउन आफूले पहल गरेको उनको भनाइ थियो । आफूले मन्त्रालयको बजेट रु १३ अर्बले बढाएकाले अहिले स्थानीय तहलाई पैसा दिन सकिएको बताए । मन्त्री बस्नेतले दरबन्दी थप्ने विषयमा अर्थमन्त्रालय र प्रधानमन्त्रीसँग सहमति भइसकेको जानकारी दिए । स्वास्थ्य क्षेत्रको सुधारका लागि चिकित्सा ऐन संशोधन हुने क्रममा रहेको जानकारी गराए ।

Ads

सम्बन्धित पोष्टहरू