Ads

धौलागिरि क्याम्पसमा छात्रवृत्ति कोष स्थापना


गलकोट (बागलुङ) । यहाँ रहेको धौलागिरि बहुमुखी क्याम्पसमा जेहेन्दार र विपन्न विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा दिने उद्देश्यले स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा रू एक करोडको छात्रवृृत्ति कोष शुभारम्भ गरिएको छ । क्याम्पसका प्रमुख प्रध्यापक डा रामप्रसाद उपाध्यायले एक महिनाको तलबबराबार रू ७५ हजार कोषमा राखेर बुधबार कोषको शुभारम्भ गरेका छन् ।

शुभारम्भकै दिन क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा दिनबहादुर थापाले रू एक लाख पाँच हजार कोषलाई सहयोग गरेका छन् । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले स्वतन्त्र विद्यार्थी युनियनले रू एक करोड ‘धौलागिरि बहुमुखी क्याम्पस छात्रवृत्ति कोष’ स्थापना शुभारम्भ गरेको जनाएको छ ।

कोषका लागि रू ५० लाख स्थानीय तहमार्फत र रू ५० लाख देउसीभैलो कार्यक्रम, क्याम्पसका प्रध्यापक, शिक्षक तथा कर्मचारीबाट सङ्कलन गर्ने उद्देश्य रहेको क्याम्पसका स्ववियु सभापति सुदीपसागर कँडेलले जानकारी दिए । क्याम्पसमा अध्ययन गर्न आउने आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति रकममार्फत निःशुल्क अध्यापन गराउने उद्देश्य राखेर कोष स्थापना गर्न सुरु गरिएको उनले बताए ।

“यो एउटा वृहत कोष हो । धौलागिरि क्याम्पसमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क अध्यापन गराउने हाम्रो अठोट छ । यसले क्याम्पसको शैक्षिक गुणस्तरमासमेत वृद्धि गर्दछ”, सभापति कँडेलले भने, “बागलुङका १० वटै स्थानीय तहलाई साझेदारीमार्फत कोषमा सहभागी गराइने छ । कम्तीमा एक पालिकाले १० लाखको कोष क्याम्पसमा बनाउने छन् भने सोही स्थानीय तहका विद्यार्थीलाई क्याम्पसमा निःशुल्क अध्यापन गराउन सिफारिस गर्न सकनेछ ।”

कोषलाई रू एक करोडको बनाउने लक्ष्य अनुसार क्याम्पसका प्राध्यापकहरुले एक महिनाको तलब कोषमा जम्मा गर्न सुरु गरिसकेका क्याम्पसका प्रध्यापक डा रामप्रसाद उपाध्यायले जानकारी दिए। उहाँले देउसी भैलोकार्यक्रम खेलेर थप रकम सङ्कलन गरिने बताए । उपाध्ययाका अनुसार क्याम्पसका शिक्षक र कर्मचारीबाट झण्डै रू १० लाख कोषमा सहयोग हुने जानकारी दिए । उनका अनुसार देउसीभैलो, पूर्वविद्यार्थी तथा पूर्व कर्मचारी पुर्नमिलन कार्यक्रममार्फत रू १० लाख सङ्कलन गर्ने लक्ष्य लिइएको छ ।

क्याम्पस र समुदायबीचको सम्बन्ध र सहकार्य बढाउन, उच्च शिक्षा अध्ययन तर्फ विद्यार्थीको आकषर्ण बढाउन कोष निर्माण शुभारम्भ गरिएको स्ववियु सभापति कँडेलले बताए । कोष स्थापना गरी जम्मा गरिएको रकमको ब्याजबाट वाषिक एक सयभन्दा बढीलाई छात्रवृतिमार्फत अध्ययन गराउने उद्देश्य रहेको उनको भनाइ थियो ।

“कोष स्थापनाको लागि स्ववियुको तर्फबाट तिहारमा देउसी खेल्ने, जिल्लाका १० वटा पालिकाका साथै स्थानीय व्यवसायी, कर्मचारी, समाजसेवी, भूतपूर्व विद्यार्थीलगायत सबैसँग समन्वय गर्ने भएकाले रू एक करोडको कोष स्थापना सजिलै हुनेछ”, कँडेलले भने, “अहिले पनि हामीले केही विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएका छौँ ।” क्याम्पसमा स्थापना गरिने कोषले आर्थिक अभावका कारण पढाइ छोड्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै क्यापसको शैक्षिक गतिविधिलाई चलायमान बनाउने उनले बताए ।

Ads

सम्बन्धित पोष्टहरू