काठमाडौ\ नेकपा एमालेले भूकम्प प्रभावित क्षेत्रमा एक हजार एकसय जना स्वयंसेवक परिचालित गरेको जनाएको छ । स्वयंसेवकहरूले भूकम्पले भत्काएका घरभित्रका सामानहरू निकाल्ने, भग्नावशेष पन्छाउने र त्यहाँ अस्थायी घरटहरा बनाउन जमिन सम्याउनेजस्ता काम गरिरहेको एमालेले जनाएको छ ।
कात्तिक १७ गते राति गएको भूकम्पबाट प्रभावित जाजरकोट र रुकुमपश्चिममा भएको भौतिक संरचनाको भग्नावशेष हटाउन र अस्थायी बसोबास निर्माणका लागि पार्टी केन्द्रको तर्फबाट एक हजार र प्रदेशका एक सय गरी ११ सय स्वयंसेवक खटिएका हुन् । त्यसमध्ये जाजरकोटमा सातसय र रुकुमपश्चिममा चारसय स्वयमसेवक परिचालन भएको पार्टी केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए ।
एमालेका जनसंगठनहरू नेपाल ट्रेड युनियन महासंघ जिफन्ट, अनेरास्ववियु, राष्ट्रिय युवा संघ नेपाल, राष्ट्रिय खेलकुद महासंघ तथा पार्टीका प्रदेश कमिटीबाट दक्ष जनशक्ति सहितको स्वयंसेवकहरूको टोली प्रभावित क्षेत्रमा पुगेर काममा जुटेको नेता आचार्यले जनाए ।
जिफण्टको स्वयंसेवक टोली जाजरकोटमा मङ्सिर १ गतेदेखि नै भग्नावशेष हटाउन र भत्केका घरभित्र पुरिएका सामान निकाली व्यवस्थापन गर्न खटिइरहेको छ । केन्द्रीय सदस्य आचार्यका अनुसार स्वयंसेवकहरूलाई प्रभावित बस्तीको आधारमा विभिन्न २८ वटा समूहमा विभाजन गरिएको छ ।
कांग्रेसले ईन्जिनियर सहित २५ टोली खटाउने
नेपाली कांग्रेसले भूकम्पपीडितलाई बस्ने अस्थायी टहरा तत्काल बनाउन इञ्जिनियरसहितको स्वयंसेवक टोली पठाउने भएको छ । कांग्रेस पदाधिकारीको बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्पीडितलाई जाडोबाट थप प्रभावित हुन नदिन तत्काल अस्थायी टहरा बनाउनका लागि स्वयंसेवक टोली पठाउने निर्णय गरेको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले वृद्धवृद्धा र सुत्केरी भएका परिवारका लागि प्राथमिकतामा राखेर टहरा बनाउनुपर्ने सुझाव दिएको पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
बैठकमा भूकम्पप्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि हालै फर्कनुभएका कांग्रेस उपसभापति तथा उप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र पार्टीका महामन्त्री गगनकुमार थापाले प्रभावित क्षेत्रको बस्तुस्थितिबारे जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्