काठमाडौँ । नेपाल–चीन सम्बन्ध विस्तार तथा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुन लागेको मैत्रीपूर्ण दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी नेपाल आउने भएका छन् । नेपालका लागि चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा चीनको युनान माउण्टेनियरिङ एण्ड आउटडोर स्पोर्टस् एसोसिएसन र होटल एसोसिएसन पोखराको सहआयोजनामा यही मङ्सिर ९ गते पोखरामा दौड प्रतियोगिता आयोजना हुँदैछ ।
उक्त प्रतियोगितामा भाग लिन चिनियाँ धावक, अफिसियल र अन्य पाहुना गरी एक सय चार जनाको टोली मङ्सिर ७ गते पोखरा विमानस्थलमा अवरतण गर्ने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उनीहरू चिनियाँ सरकारको सहयोगमा हिमालय एयरलाइन्सको चार्टर्ड विमानमार्फत पोखरा आउन लागेका हुन् ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले प्रतियोगितामा नेपाल र चीनका १०/१० टोली सहभागी हुने र प्रत्येक टोलीमा तीन जना रहने जानकारी दिए । यसअघि सन् २०१९ मा पोखरामा अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री प्रतियोगिता आयोजना गरिएकोमा कोभिड-१९ महामारीका कारण त्यसपछि दौड प्रतियोगिता आयोजना हुन सकेको थिएन । प्रतियोगिताले नेपालमा चिनियाँ पर्यटक बढाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।
प्रतियोगितामा धावकहरूले दौड, साइकिलिङ र फेवातालमा बोटिङ गरी ४० किलोमिटर पार गर्नुपर्नेछ । फेवाताल किनार बाराहीघाटबाट सुरु हुने प्रतियोगिता पातले छाँगो हुँदै विश्व शान्ति स्तूप पुगेर फेवातालमा बोटिङ गरी व्यक्तिगत दौड पूरा गर्नुपर्नेछ भने आम नागरिक र विद्यार्थीका लागि पाँच/पाँच किलोमिटरका दौड प्रतियोगिता आयोजना गरिनेछ ।
नेपाली र चिनियाँ धावकबीच हुने प्रतियोगिताका प्रथम हुने टोलीले तीन लाख ३० हजार, दोस्रो हुनेले दुई लाख ८८ हजार, तेस्रो हुनेले दुई लाख १६ हजार, चौथो हुनेले एक लाख ४४ हजार र पाँचौँ हुनेले ९० हजार पुरस्कार पाउनेछन् । व्यक्ति स्पर्धातर्फ प्रथम हुनेले एक लाख ४४ हजार, दोस्रो हुनेले एक लाख आठ हजार, तेस्रो हुनेले ५४ हजार नगद प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्