Ads

सुरक्षामा कडाई, चहल पहलमा कमी


काठमाडौ\ आज काठमाडौमा हुने दुई प्रदर्शनलाई लिएर सुरक्षा व्यवस्था कडा पारिएको छ । बिहानै देखि सडकमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति देखिएको छ । गयराती देखिनै ट्राफिक प्रहरीले समेत ठाउँ ठाउँमा चेकजाँच कडा पारेको थियो ।

नेकपा एमाले निकट युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको एक समूहले एकै दिन अलग अलग प्रदर्शन गर्ने तयारी गरेपछि यस अघि देखिनै सुरक्षा चासो निकै बढेको थियो ।

दुई समूहको गतिविधिबाट समग्र शान्ति सुरक्षामा खलल पुग्न सक्ने भन्दै सरक्षाकर्मी पनि तयारी अवस्थामा राखिएको नेपाल प्रहरीका केन्द्रिय प्रहरी प्रवक्ता कुवेर कडायतको भनाई छ । प्रसाईं नेतृत्वको समूहले संघीय लोकतान्त्रिक गणतन्त्र नै उल्ट्याउनुपर्ने माग राखेर गर्ने भनिएको आन्दोलनको समय अवधि भने तोकिएको छैन । उसले आवासीयरुपमा ठूलो संख्यामा सहभागीहरु आउने दाबी गर्दै आएको छ । यता, युवा संघले भने अहिलेसम्म ७ गते एकदिनको लागि मात्र प्रदर्शनको कार्यक्रम सार्वजनिक गरेको छ ।

यि छुट्टा छुट्टै प्रदर्शनका क्रममा हिंसात्मक गतिविधि हुन सक्ने सम्भावना व्यक्त भैरहेको बेला स्थानीय प्रशासन र सुरक्षाकर्मीले त्यसलाई रोक्न विशेष तयारी गरेका छन् । दुवै प्रदर्शन अलग अलग विषयलाई लिएर गर्न लागिएको भनिएपनि एक अर्काविरुद्ध आक्रामक अभिव्यक्ति दिइरहेका कारण स्थानीय प्रशासनले झडप हुने आशंकामा प्रदर्शनस्थल माइतीघर र आसपासको क्षेत्रमा ३० दिन लामो निषेधित क्षेत्र घोषणा गरिसकेको छ । त्यससँगै उसले दुवै पक्षलाई प्रदर्शन गर्न पाउने अलग अगल स्थान समेत तोकिदिएको छ ।

युवा संघलाई तिनकुनेको खुल्ला मैदानमा र दुर्गा प्रसाईं नेतृत्वको समूहलाई बल्खुमा स्थान निर्धारण गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताएका छन् । प्रदर्शनका क्रममा झडपका घटना नहुन नदिन जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

आवश्यक काम भए मात्र निस्किन आग्रह
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना जारी गर्दै बिहीबार उपत्यकाका विभिन्न स्थानमा र्‍याली र जुलुस प्रदर्शनको कार्यक्रम रहेकाले अत्यावश्यक काममा मात्रै सवारी साधन लिएर निस्कन आग्रह गरेको छ । ट्राफिक प्रहरी कार्यालयले भोली उपत्यका भर नै सवारी आवगमनमा असहजता श्रृजना हुनसक्ने भएकाले अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन आग्रह गरेको हो ।

Ads

सम्बन्धित पोष्टहरू