Ads

विद्यालय ध्वस्त हुँदा ९ हजार विद्यार्थी विद्यालय बाहिर


जाजरकोट\  कात्तिक १७ गते बारेकोट–१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट भत्किएका विद्यालयमा अझै सञ्चालन हुनसकेका छैनन् । भूकम्पको केन्द्रविन्दु रहेको बारेकोटमा मानवीय क्षति नभए पनि भौतिक क्षति व्यापक छ । विद्यालय कुनै पनि सग्लो अवस्थामा नरहेको गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए ।

भूकम्पको केन्द्र विन्दु रहेको बारेकोटका विद्यालयमा युनिसेफले अस्थायी संरचना निर्माण गर्ने जिम्मेवारी लिएको छ । अन्य ठाउँका विद्यालय चर्केको भए पनि बारेकोटका सबै विद्यालय भत्केका छन् । बारेकोटमा मात्र ४४ विद्यालयका तीन सय १७ कक्षाकोठा ध्वस्त भएपछि विद्यालय सञ्चालन हुन नसकेको गाउँपालिकाका अध्यक्ष गिरीले बताए। एक सय १९ वटा शौचालयसमेत काम नलाग्ने गरी भत्किएको उनले जानकारी दिए ।

तत्काल एक सय ७३ वटा आपत्कालीन सिकाई केन्द्र निर्माण भएमा मात्र कक्षा सञ्चालन गर्न सकिने र नौ हजार आठ सय ६६ विद्यार्थी अहिले विद्यालयमा आउन नसकेको उनको भनाई छ । दसैँतिहारमा बन्द भएका विद्यालय हिउँदयाममा सञ्चालन हुने गरेका थिए । हिउँदमा अधिकांश पाठ्यपुस्तक पढाइ हुने समय हो । अन्य समयमा विद्यालय खुले पनि पढाइ हुने अवस्था थिएन ।

अस्थायीरूपमा आपत्कालीन अवस्थामा विद्यालय खुले पनि अधिकांश विद्यार्थीलाई कापी, किताब र पोशाकको आवश्यकता छ । जाजरकोटमा चार सय २३ विद्यालयमा क्षति भएको छ । भेरीमा ५५, नलगाडमा ७१ , छेडागाडमा ५३, कुशेमा ५५, शिवालयमा ४०, जुनिचाँदेमा ६५ विद्यालयमा क्षति भएको सामाजिक विकास कार्यालय जाजरकोटका प्रमुख यज्ञश्वर खत्रीले बताएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू